
काठमाडौं, २८ साउन । पोल्याण्ड लगायतका विभिन्न देश पठाउने भन्दै भिजिट भिसामा बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धक बनाई रकम असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बंगलादेशी नागरिकहरूलाई बन्धक बनाएर रकम असुलेको आरोपमा सातजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा दुई नेपाली नागरिक इलाम घर भएकी रोशनी राई र सिन्धुपाल्चोक घर भएकी तारा नेपाली रहेकी छिन् भने पाँचजना बंगलादेशी नागरिक रहेका छन् । जसमा अमिर हुसेन, मोहम्मद मोसिह्युर, सलिम मिँया, जहान्गीर अलाम र ताहमिना बेगम रहेका छन् ।

उनीहरूले बंगलादेशबाट विभिन्न प्रलोभनमा नेपाल ल्याई बन्धक बनाएर परिवारसँग रकम मागेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए । आफूहरूसँग भएको रकम असुल गरेर परिवारसँग पनि फोनमार्फत रकम असुल गर्न खोजेपछि एक बंगाली नागरिकले उजुरी दर्ता गराएको र अनुसन्धान गर्दा गिरोहलाई पक्राउ गर्न सफल भएको उनले बताए ।
विदेश पठाउन प्रक्रियाका लागि केही रकम लाग्ने भन्दै सुरूमा बंगलादेशमै ५० हजारदेखि १० लाख टाकासम्म लिएको खुलेको उनले जानकारी दिए । पत्रकार सम्मेलनमा बंगलादेशी पीडित नागरिकहरूले आफूहरूलाई एजेण्टले पोल्याण्ड लगायतका देश पठाउनका लागि पाँच लाख रुपैयाँ लिएर नेपाल पठाएको र नेपाल आएपछि बन्धक बनाएको बताए ।
नेपाल आएपछि आफूहरूसँग खर्चका लागि भएको पैसा, मोबाइल पनि लिएको उनीहरूले बताएका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिताका साथै संगठित अपराध ऐन बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।















प्रतिक्रिया