
काठमाडौं, २७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले प्रतिशोधको राजनीति गरिरहेको र यसले मुलुकको हित नगर्ने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिशोधका आधारमा विरोधीहरूलाई धमाधम हतकडी लगाइरहेको भन्दै पाकिस्तानी शैलीको राजनीति नगर्न आग्रह समेत गरेका छन् ।
यस्तै, सत्तारुढ नेपाली कांग्रेसकका नेता शेखर कोईरालाले वर्तमान सरकारको आयु छोट्टिदै गएको बताएका छन् । सरकारले प्रभावकारी रुपमा भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिन नसकिरहेको भन्दै उनले सरकारको आयु छोट्टिएको बताएका हुन् ।
हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–
१. पक्राउ गर्दै छोड्दै : एक क्विन्टल सुन तस्करी प्रकरणमा हिजो शुक्रबार पक्राउ परेका व्यवसायी राकेश अडुकियाका छोरा रोहन अडुकिया रिहा, दुई जना चिनियाँ नागरिक पनि थुनामुक्त ।
२. पहिरोको वितण्डा : मकवानपुरको भीमफेदी गाउँपालिका–२ स्थित भैँसेमा वर्षासँगै पहिरो जाँदा दुई घर पुरियो, पहिरोका कारण हेटौंडाबाट भैंसे–पालुङ–नौबीसे हुँदै काठमाडौं जोड्ने त्रिभुवन राजपथ अवरुद्ध ।
३. स्वदेश फर्किन अपील : आफ्नो सृजना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवाहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अपील, स्वदेश र विदेशमा रहेका लाखौँ युवालाई देशभित्रै विकास निर्माणका कार्यमा जुटन आग्रह ।
४. नेपाली राजनीति पाकिस्तानी मोडेलमा : प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरू गरेको पाकिस्तानी मोडेलको राजनीतिले गम्भीर समस्या निम्त्याउने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ, प्रतिशोधको राजनीतिले समस्याको समाधान ननिस्किने चेतावनी ।
५. सरकार श्रमिकविरोधी : वर्तमान गठबन्धन सरकार र समाजवादी मोर्चा श्रमिकविरोधी रहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलको भनाइ, दुई वर्षमा वृद्धि हुनुपर्ने न्यूनतम पारिश्रमिक तीन वर्षमा पनि वृद्धि नभएकामा चिन्ता व्यक्त ।
६. सरकारको आयु छोट्टिँदै : भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिन नसकिरहेकाले वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने सत्तारुढ कांग्रेसका नेता शेखर कोइरालाले दाबी, वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्नेमा जोड ।
७. मन्त्रीको निर्णयमा मन्त्रीकै अब्जेक्सन : लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको नियुक्त रद्द गर्नुपर्ने लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताको धारणा, संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले माफी माग्नुपर्ने भनाइ ।
८. मौलिक अधिकार कार्यान्वयन गरौँ : शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँच हुनुपर्ने नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वस्वास्थ्यमन्त्री गगन थापाको धारणा, नागरिकको मौलिक हक कार्यान्वयनमा राज्य उदार बन्नुपर्नेमा जोड ।
९. गठबन्धन तोडिने चेतावनी : गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई एक मिनेट पनि पदमा रहने नैतिक अधिकार नभएको नेपाली कांग्रेसका सांसद सुनील शर्माको भनाइ, गठबन्धनबारे कांग्रेसले पुनर्विचार गर्ने समय आएको विचार व्यक्त ।
१०. माइतीघरमा धर्ना : चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले दियो माइतीघर मण्डलामा धर्ना, सीटीईभीटीका कारण बन्द भएका नर्सिङ कलेजहरुमा तत्काल भर्ना खोल्न माग ।
११. शिक्षासम्बन्धी विधेयक शिक्षामैत्री भएन : ऐन ल्याउने सवालमा आफूहरुको कुनै विरोध नरहेको तर, साझा प्रतिनिधित्वको माग गरिएको उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का अध्यक्ष रमेश सिलवालको प्रष्टोक्ति, विधेयकका कतिपय व्यवस्था शिक्षामैत्री नभएको जिकिर ।
१२. एमाले फर्किनेको लहर : नेकपा (एकीकृत समाजवादी) पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर र अनेरास्वयूका केन्द्रीय सचिवालय सदस्य आकाश अधिकारीसहित ४० जना विद्यार्थी नेता एमालेमा प्रवेश, माधव नेपालको भ्रममा परेर बाटो बिराएको भनाइ ।
१३. सचिवलाई कालो पोतियो : नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सचिव दुर्गाराज पाठकमाथि अज्ञात समूहले छ्याप्यो कालो तरल पदार्थ, अज्ञात समूहको खोजी भइरहेको प्रहरीद्वारा जानकारी ।
१४. काकरलाई कार्यवाहक : पाकिस्तानका सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति आरिफ अल्भीद्वारा स्वीकृति प्रदान, संविधानको धारा २२४ (१ ए) अनुसार काकरलाई कामचलाउ प्रधानमन्त्रीको स्वीकृति दिइएको राष्ट्रपतिको सञ्चार शाखाद्वारा जानकारी ।
१५. अष्ट्रेलिया सेमिफाइनलमा : फ्रान्सलाई पराजित गर्दै सह–आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश, पेनाल्टी सुटआउटमा अष्ट्रेलियाद्वारा फ्रान्स ७–६ गोलअन्तरले पराजित ।















प्रतिक्रिया