
काभ्रे, २७ साउन । नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले नेपाली साहित्य श्रीवृद्धिका लागि काभ्रेली स्रष्टा र साहित्यकारहरूको उल्लेख्य योगदान रहेको स्मरण गर्दै समाज रुपान्तरणमा अब नयाँ शिराबाट सर्जकहरू जुट्नुपर्ने बताएका छन् ।
रोशी वाङ्मय प्रतिष्ठानले आज काभ्रेको भकुण्डेबँेसीमा आयोजना गरेको प्रतिष्ठानको ११औँ साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रममा महाप्रबन्धक बलले समाज रूपान्तरणमा सर्जकहरूको महत्वपूर्ण भूमिका रहने चर्चा गर्दै नयाँ ढंगबाट जुट्नुपर्ने समय आएको बताएका हुन् ।
रोशी साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा नमोबुद्ध नगरपालिकाका प्रथम मेयर टीपी शर्मा तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक दीपक समीर, रेडियो नमोबुद्धका अध्यक्ष भक्तबहादुर स्याङ्तान, मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनाल, नमोबुद्ध वडा नं. ४ का पूर्व वडा अध्यक्ष उद्धवप्रसाद काफ्ले, जनक माविका प्रधानाध्यापक प्रदीप पोखरेल, जग्गादाता मुक्तिराज हुमागाईं, जापानी सूचना केन्द्र नेपालका अध्यक्ष मदनकृष्ण सिलवाललगायतको आतिथ्यता थियो ।
उद्घाटन सत्रमा दीप प्रज्वलन गरी तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष स्व. गोविन्दबहादुर थापाको तस्बीरमा माल्यार्पण गरिएको थियो ।
भेलाले टीपी शर्मा तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत ढंगबाट चयन गरेको छ ।
उपाध्यक्षमा मोदनाथ अधिकारी, सचिव यन्त्रनाथ खनाल, कोषाध्यक्ष्य अनिता शील्पकार, सदस्यहरूमा ऋषिराम हुमागाईं, दिनेश अधिकारी, रमेशप्रसाद न्यौपाने, हरिकृष्ण सिलवाल र राजु काफ्ले बयरधारी रहेका छन् भने दुई सदस्य पछि मनोनित गरिने भएको छ । – मुना न्यौपानेबाट















प्रतिक्रिया