
काठमाडौं, २६ साउन । केही दिनयता संसद चल्न नसकेकोप्रति प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले धुलिखेलमा आज आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले दलहरू र संसद सदस्यहरूले आ–आफ्नो ठाउँबाट सहयोग गरे सदन खुलाउन सहज हुने बताएका छन् ।
‘केही सातादेखि संसद नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौं विधेयकहरु छलफल भएको छैन । परिणाम दिने गरी नियम कानून बनाउन सकिरहेका छैनौं । पछिल्लो समय संसद अवरोध नियमित कानुन बनाउन बाधक भएको छ । माननीयज्यूहरुले संसद अवरोध खोल्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु,’ उनले भने ।
पछिल्ला वर्षहरूमा संसदले नियमित काम गर्न नपाउँदा कानुन निर्माणको कामहरू ढिलाइ भइरहेको पनि उनले बताएका छन् । ‘संसदले पछिल्ला वर्षहरुमा नियमित काम गर्न पाएको छैन । अघिल्लो संसदमा पनि संसद विघटन, पुनर्स्थापना र निर्वाचनका कारण जनमुखी कानून निर्माणमा पर्याप्त छलफल हुन सकेन,’ सभामुख घिमिरेले भने ।
मानवअधिकार आयोगको घटुवा जस्ता गम्भीर विषयमा जसरी संसदमा छलफल गर्नुपर्ने हो, त्यो हुन सकेको बताउँदै उनले अरू पनि थुप्रै विधेयकहरू र नीतिहरु बनाउनुपर्ने अवस्था रहेको उल्लेख गरे ।
‘मानवअधिकार आयोगको स्तर घटुवाको विषयले मलाई गम्भीर बनाएको छ । यस विषयमा सरकारले विशेष दायित्व निर्वाह गर्नुपर्ने देखेको छु । संसदमा पनि अथासक्य यस विषयमा छलफल हुनुपर्छ,’ उनले भने ।















प्रतिक्रिया