
दाङ, २५ साउन । विभिन्न व्यक्तिहरूलाई धम्की दिँदै लाखौँ रुपैयाँ असुल गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सल्यानको त्रिवेणी गाँउपालिका वडा नं. ४ बस्ने ३३ वर्षीय धनराज तुफान भनिने धनबहादुर परियार र सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. १ दमाचौर बस्ने २९ वर्षीय चन्द्र प्रकाश विक छन् ।
उनीहरूलाई तुलसीपुर उपमहानगरपालिका वडा नं ९ बेलुबाबाट बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए ।
उनका अनुसार परियार र विकले विगत केही समयदेखि डरधाक धम्की दिई पार्टीका नाममा सहयोग (चन्दा) माग्ने गरेका थिए ।
प्रहरी प्रमुख गोतमका अनुसार उनीहरूले गत चैत ३ गते तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित हिमाल एकेडेमीका प्रिन्सीपल मधसुदन केसीलाई नेपाल कम्युनिष्ट पाटी (बहुमत) को लेटरप्याड बनाई आर्थिक सहयोग सम्बन्धमा भनी ‘ह्वाट्स एप’मार्फत पत्र पठाई दश लाख रुपैयाँ माग गरेको र यदी कसैलाई भन्ने वा प्रहरीलाई खबर गरेमा अप्रिय घटना समेत घट्न सक्ने चेतावनी दिएका थिए ।
यस्तै, गत वैशाख १८ गते सल्यानको कपुरकोटस्थित कालिका माविका शिक्षक बामदेव अधिकारीलाई नेपाल कम्युनिष्ट पाटी (बहुमत) को लेटरप्याड बनाई आर्थिक सहयोग सम्बन्धमा भनी एसएमएस पठाई पाँच लाख रुपैयाँ माग गरेको र यदि कसैलाई भन्ने वा प्रहरीलाई खबर गरेमा अप्रिय घटना समेत घट्न सक्ने चेतावनी दिएका थिए ।
यसैगरी गत असार २७ गते दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बेलझुण्डी माविकी शिक्षिका जानका बस्नेतलाई नेपाल कम्युनिष्ट पाटी (बहुमत) को लेटरप्याड बनाई आर्थिक सहयोग सम्बन्धमा भनी पत्र पठाई एक लाख रुपैयाँ माग गरेको र यदी कसैलाई भन्ने वा प्रहरीलाई खबर गरेमा अप्रिय घटना समेत घट्न सक्ने चेतावनी दिएका थिए ।
यसैगरी उनीहरूले तुलसीपुरकै बुढागाउँ पर्सेनी बस्ने पूर्वशिक्षक ईन्द्रबहादुर ओलीलाई एक लाख रुपैयाँ मागेको तथा विभिन्न मितिमा फिरौती माग गरी नदिएमा ज्यानै लिनेसम्मको कार्बाही समेत गरिने भनी चेतावनीपूर्ण पत्र तथा एसएमएस गरेका थिए ।















प्रतिक्रिया