
दोलखा, २३ साउन । नेकपा एमाले जिल्ला कमिटी दोलखाले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद शेयरबाट कसैलाई वञ्चित नगराउन अपर तामाकोशी हाइड्रोपावर कम्पनीलाई चेतावनी दिएको छ ।
कम्पनीको हकप्रद शेयरमा आयोजना प्रभावितहरूलाई छुटाउने कुत्सित मनसायका साथ आयोजनाले प्रक्रिया अगाडि बढाएकोप्रति आपत्ति जनाउँदै दोलखा एमालेले आफूहरूको गाम्भीर्यतालाई बेवास्ता नगर्न चेतावनी दिएको हो ।
नेपालकै गौरवको आयोजना दोलखा जिल्लास्थित अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासनको लागि शेयर दाखिल खारेज बन्दको मिति तोकी जारी गरेको सूचना प्रति नेकपा एमाले दोलखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
हिजो सोमबार विज्ञप्ति जारी गर्दै एमालेले कुनै पनि बाहानामा कोही पनि दोलखालीलाई हकप्रद शेयर पाउनबाट वञ्चित नगराउन जोडदार माग गरेको छ । ‘कुनै पनि दोलखाली नागरिक कुनै पनि बाहानामा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रदान गर्ने हकप्रद शेयरको अधिकारबाट बञ्चित नगराउन माग गर्दछौँ,’ जिल्ला अध्यक्ष नरबहादु श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यदि विदेशमा भएका वा स्वदेशमै रहेका कुनै पनि दोलखाली नागरिकको हितग्राही खाता (डिम्याट नम्बर) नभएको खण्डमा पनि हकप्रद शेयर सुनिश्चितता गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछौँ । हाम्रो गाम्भीर्यतालाई वेवास्ता गरेमा सम्पूर्ण जिम्मेवारी अपर तामाकोशी हाइड्रोपावरले लिनुपर्नेछ ।’
हकप्रद शेयरमा सबै दोलखालीको सहभागिता सुनिश्चितताका लागि गत साउन ९ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा दोलखाका सबै सरोकारवालासँग भएको छलफलको निर्णय आयोजनाले कार्यान्वयन नगरेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । सो छलफलले आयोजना प्रभावित दोलखालीको हितग्राही खाता (डिम्याट एकाउन्ट) खोल्न सबै स्थानीय तहहरूमा आयोजना, शेयर इश्यु म्यानेजर र सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको समन्वयमा सनराइज क्यापिटलले व्यवस्थापन गरी हितग्राही खाता खोल्ने व्यवस्था गर्ने तथा भौतिक रूपमा पनि फाराम भरेर हकप्रद शेयर हाल्न पाउने निर्णय गरिएकोमा आयोजनाले त्यसको बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो निर्णय कार्यान्वयन गर्ने कुनै प्रक्रिया नै सुचारु नगरी बुक क्लोज मितिको सूचना जारी गरिएकोले धेरै दोलखाली हकप्रद शेयरबाट वञ्चित हुने एमालेलेको भनाइ छ । सर्वपक्षीय छलफलको निर्णयअनुसार यथाशीघ्र प्रक्रिया सञ्चालन गर्न एमालेले विज्ञप्तिमार्फत माग गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति–
















प्रतिक्रिया