
काठमाडौं, २२ साउन । मुलुक आर्थिक मन्दीबाट गुज्रिएका बेला सरकारले दुई महिनामा २ करोड ७५ लाख ५० हजार रूपैयाँ आर्थिक सहायता बाँडेको छ । मन्त्रिपरिषद्को निर्णयबाट आर्थिक सहायता शीर्षकमा गत जेठ र असारमा सो रकम बाँडेको हो। जेठमा ३५ लाख र असारमा २ करोड ४० लाख ५० हजार रूपैयाँ बाँडेको छ ।
पछिल्लो दुई महिनामा सबैभन्दा धेरै आर्थिक सहायता लिनेमा राष्ट्रपति रामचन्द्र पौडेल छन् । राष्ट्रपतिलाई सरकारले ५५ लाख २ हजार २७९ दिएको छ । सरकारले परराष्ट्र मन्त्रालयको आग्रहमा असारको मन्त्रिपरिषद्को निर्णयबाट सो रकम राष्ट्रपतिलाई दिएको हो । ‘नेपाल सरकार मन्त्रिपरिषद् बैठकको २०८० असार १२ गते निर्णयअनुसार सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य परीक्षणका लागि भारत जाँदाको खर्च भुक्तानी गर्न परराष्ट्र मन्त्रालयलाई निकासा,’ आर्थिक सहायता दिएको विवरणमा उल्लेख छ ।
राष्ट्रपतिले सबैभन्दा बढी सहायता रकम प्राप्त गर्दा सबैभन्दा कम पाउनेमा भने काठमाडौंको धर्मकीर्ति विहारकी गुरुमा धम्मावती शाक्य छिन् । उनलाई ६५ हजार ६७२ रूपैयाँ दिइएको छ । कसैलाई धेरै कसैलाई थोरै गरेर गत दुई महिनाभित्र आर्थिक सहायता पाउने ७० जना छन् ।
सरकारले गत वर्षको साउनदेखि माघ मसान्तसम्म १३९ जनालाई आर्थिक सहायतास्वरूप ५ करोड ४६ लाख ३४ हजार रूपैयाँ वितरण गरिसकेको थियो । हाल नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई सरकारले दुई चरणमा गरी २७ लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।
२०७९ कात्तिक ३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई औषधि उपचार खर्च बापत २५ लाख रूपैयाँ आर्थिक सहायता दिइएको थियो । गत मंसिरमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललले २० लाख रूपैयाँ पाएका थिए ।
मुलुक आर्थिक मन्दीमा रहेको भन्दै सरकारले विभिन्न खर्च कटौतीको घोषणा गरे पनि राष्ट्रपतिलगायत राजनीतिक दलका नेताहरूलाई सो रकम वितरण गरेको पाइएको छ । एकीकृत समाजवादीका रामचन्द्र झाले ५ लाख लिएका छन् । अधिवक्ता बोर्णबहादुर कार्कीलाई पनि ५ लाख दिइएको छ । कोसी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा मृत्यु भएका पदमकुमार लिम्बूका परिवारलाई १० लाख रूपैया दिइएको छ ।
त्यसैगरी बर्दिया मधुवनका वेदप्रसाद पाण्डे द्वन्द्वकालमा बेपत्ता भएको भन्दै उनको परिवारलाई पनि १० लाख आर्थिक सहायत दिइएको छ । त्यसमध्ये धेरैजसोलाई १ लाख, २ लाख र ३ लाख रूपैयाँ दिइएको छ ।
धेरैजसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा र त्यसमा पनि उनको जन्मथलो गन्यापधुराका छन् । चितवन, सुर्खेत, कञ्चनपुर स्याङ्जा, खोटाङ, बैतडी लगायत जिल्लाका पनि छन् ।
प्राप्त विवरणअनुसार जेठमा आठजनालाई ३५ लाख र असारमा ६२ जनालाई साढे २ करोड रूपैयाँ आर्थिक सहायताबापत दिइएको छ । ७० जनामध्ये पूर्वपरराष्ट्र सचिव हिराबहादुर थापालाई ७ लाख, धनुषाका रामचन्द्र झालाई ५ लाख, चितवन मंगलपुर–५ की दिलकुमारी रावललाई ३ लाख दिइएको छ । बर्दियाका सिद्धान्त चौधरीले ३ लाख, गोरखाकी लीलादेवी बस्नेतले ३ लाख, बैतडीका भावना चन्दले ३ लाख पाएकी छन् ।
कैलालीका शेरबहादुर सिंहले ५ लाख पाएका छन् । प्रकाश शर्मालाई ४ लाख , विजय रिजाललाई ४ लाख दुर्गा खनाललाई पनि चाख दिइएको छ ।
त्यसैगरी रूपा खतिवडालाई ४ लाख, कोकिला खातीलाई ४ लाख, मिश्रीमाया लौवालाई ३ लाख, प्रमोद बन्जाडेको परिवारलाई ५ लाख दिइएको छ । मन्जु धमललाई ५ लाख, एकेन्द्र तामाङलाई ३ लाख, हिमाकान्त भुसाललाई ५ लाख दिइएको छ । चेतन तिमिल्सेनालाई ३ लाख इन्दिरा थपलियालाई २ लाख, बलबहादुर विकलाई २ लाख, कल्पना थापालाई २ लाख आर्थिक सहायता दिइएको छ ।
यस्तै अमृत रावतलाई २ लाख, जयबहादुर घर्तीलाई ३ लाख, सावित्री पौडेललाई २ लाख, खेमबहादु दर्जीलाई २ लाख, ओमप्रकास अधिकारीलाई १ लाख, हरिमाया अधिकारीलाई २ लाख, भीमबहादुर मल्ललाई १ लाख, प्रमिलामाया माझीलाई २ लाख, हुसिन बक्सलाई २ लाख, सचित्र शर्मालाई २ लाख, कविता थापा मगरलाई ३ लाख, शारदा रेग्मीलाई ३ लाख, जगत विश्वकर्मालाई ३ लाख सहायता दिइएको छ। प्रकाशसिंह महतलाई ३ लाख तथा शान्तिदेवी शर्मा, देवकी भट्ट, लोकबहादु धानुक, योगेश गुरुङ, कविराज थामीलाई क्रमशः २/२ लाख दिइएको छ ।
त्यसैगरी दीपकराज पाण्डेयलाई १ लाख, धर्मदेवी महलाई १ लाख, छत्रबहादुर आलेलाई २ लाख, सन्तोष भट्टलाई २ लाख, शिवी ढोलीलाई २ लाख, महेशदत्त भट्टलाई १ लाख, घ्युकुमारी बिसीलाई १ लाख, दिनेश सुनारलाई १ लाख, खेमराज भट्टलाई एक लाख, कृष्णकुमारीलाई १ लाख, कुमारी खत्रीलाई ३ लाख, कलकबहादुर थापालाई ३ लाख, हंसराज पन्तलाई २ लाख, तारादेवी भट्टलाई २ लाख, भीमबहादुर विष्टलाई २ लाख, थानेश्वर भूललाई २ लाख, कमलसिंह मल्ललाई १ लाख, बाबुराम राईलाई १ लाख, कृष्णबहादुर लामिछानेलाई ३ लाख, मेघराज शर्मालाई ३ लाख, सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका प्रतापपुर निवासी अविनाश राजभरको परिवालाई ५ लाख दिइएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतले दिएको जानकारीअनुसार विभिन्न राजनीतिक दलको सिफारिसमा आन्दोलनका क्रममा मृत्यु, घाइते तथा बेपत्ता भएकाहरूलाई आर्थिक सहायता वितरण गरेको हो।
सबैभन्दा धेरै राष्ट्रपति पौडेललाई ५५ लाख
राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्चबापत सबैभन्दा धेरै रकम लिएका छन् । उनले पछिल्लो दुई महिनामा राज्यकोषबाट ५५ लाख २ हजार २७९ रुपैयाँ लिएका हुन् । उनले दिल्लीमा उपचार गराउँदाको खर्च सरकारबाट लिएका हुन् ।सर्वसाधारणले व्यापक आलोचना गरेपछि खर्च नलिने जानकारी पनि गराएका थिए । स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश लगिएको भनेर पनि राष्ट्रपतिको आलोचना भएको थियो ।
भारतबाट फर्किएपछि उनको सचिवालयले दिल्लीको उपचार खर्च आफैं बेहोर्ने भनी विज्ञप्तिमार्फत जानकारी गराएर तत्काल आलोचनालाई कमजोर पार्ने प्रयास गरे पनि पैसा लिन परराष्ट्र मन्त्रालयलाई भने ताकेता गरेको थियो । सरकारले रकम तिरेपछि राष्ट्रपति कार्यालय र राष्ट्रपति पौडेलको सचिवालय मौन बसेको छ । ‘वर्तमान सरकारले सो रकम राष्ट्रपतिको उपचारका लागि परराष्ट्र मन्त्रालयलाई पठाइदिएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । आजको नागरिक दैनिकमा खबर छ ।













प्रतिक्रिया