
बर्दिया, २१ साउन । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई जनताको काममा खटिन निर्देशन दिएका छन् ।
नेकपा एमाले बर्दिया जिल्ला कमिटीले आयोजना गरेको पालिकास्तरीय प्रशिक्षण कार्यक्रममा बर्दिया जिल्ला इञ्चार्ज समेत रहेका पोलिटब्यूरो सदस्य गिरीले पार्टी स्थापनाको लक्ष्य उद्देश्य अनुसार जनताको काममा जुट्न निर्देशन दिएका हुन् ।

कम्युनिष्ट पार्टी स्थापनाको इतिहासबारे चर्चा गर्दै उनले विशेष गरी वर्गीय रूपमा पछाडि परेको वर्गको सुखमा मात्र होइन दु:खमा समेत सँगसँगै काँधमा काँध मिलाएर अघि बढ्न जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गरे ।
तत्कालीन अवस्थामा विशेष गरी निरङ्कुश राजतन्त्रको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक गणतन्त्र स्थापनाको सन्दर्भमा नेकपा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै यो मुलुकको सम्वृद्धि नेकपा एमालेले मात्र हाँसिल गर्न सक्ने बताए ।

अहिले पार्टीभित्र अवसर मात्र खोज्ने पार्टीको काम नगर्ने परिपाटीको विकास भएको भन्दै पद पाउनका लागि मात्र राजनीति नगर्न उनले अनुरोध गरेका छन् । पार्टीभित्र बसेर वर्गीय रूपमा जनताको काम गरे/नगरेको मूल्याङ्कन गरिने समेत नेता कार्यकर्ताहरूको बीचमा प्रतिबद्धता व्यक्त गरे ।
नेकपा एमाले बर्दिया जिल्ला कमिटीले यही साउन १५ गतेदेखि २२ गतेसम्म बर्दिया जिल्लाका आठ वटै स्थानीय तहमा नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।















प्रतिक्रिया