
काठमाडौं, २१ साउन । नेपाल पत्रकार महासंघले आम पत्रकारमा सुरक्षा चुनौती बढेको बताएको छ ।
नागरिकको सुरक्षामा खटिएका प्रहरीहरूबाटै पत्रकार कुटिन थालेपछि पत्रकारहरूमाथि सुरक्षा चुनौती बढेको महासंघले जनाएको हो ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सल्लाहकार मनोहरकुमार पोखरेलमाथि राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा साउन १५ गते सोमबार प्रहरीद्वारा गरिएको कुटपिट र दुर्व्यवहारको घटना अत्यन्त निन्दनीय र दु:खद् रहेको भन्दै महासंघले सुरक्षाको माग समेत गरेको छ ।
आ आइतबार महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै प्रहरीबाट पत्रकारमाथि भएको हर्कत प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताएका छन् ।
‘संविधानले सुनिश्चित गरेको जिम्मेवारीलाई स्वतन्त्रतापूर्वक निर्वाह गरिरहेको अवस्थामा पत्रकार पोखरेलमाथि प्रहरी सहायक निरीक्षक राजेश्वर महतोले गरेको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको सप्तरी शाखाको पहलमा घटनामा संलग्न रहेका प्रहरी सहायक निरीक्षक महतोमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाइए पनि यस किसिमका घटना नियन्त्रणमा प्रहरी प्रशासन गम्भीर नहुनु दु:खद् पक्ष हो ।’
नागरिकलाई सूचित गराउने कर्ममा जुटेका पत्रकारमाथि सुरक्षाको जिम्मेवारी वहन गर्ने प्रहरीबाटै पटकपटक यस किसिमका हर्कत भइरहँदा पत्रकारको सुरक्षा थप चुनौतीपूर्ण बनेको र यस्ता घटनाले पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाइरहेको महासंघको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘महासंघ पछिल्ला केही दिनदेखि सप्तरीमा प्रेसमाथि बढेको यस्ता घटना नियन्त्रणमा गम्भीर हुन र यस्ता हर्कत दोहोरिन नदिन कडा कदम चाल्न तथा पत्रकार सुरक्षामा विशेष ध्यान दिई संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको उपभोगको वातावरण निर्माण गर्न स्थानीय प्रहरी प्रशासनको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ ।















प्रतिक्रिया