
काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भ्रष्टाचारविरूद्वको अभियानमा पार्टीका जो कसैले पनि बलिदान दिनुपरेमा तयार हुनुपर्ने बताएका छन् ।
काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै पुनले प्रधानमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दह्रो साथ रहेको बताएका हुन् ।
‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ । अध्यक्ष कमरेड तपाईंको अभियानमा हाम्रो दह्रो साथ छ। कुनै पनि हालतमा यो अभियान रोकिँदैन र रोकिनु हुँदैन । छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनुपर्छ,’ उनले भने ।
पुनले सुन तस्करी प्रकरणमा दावा छिरिङसँग आफ्नो पुरानो तस्वीरलाई लिएर प्रचार गरिएको भन्दै दोषी प्रमाणित भए कानुनी कठघरामा उभिन तयार रहेको बताए।
पुनले अध्यक्ष प्रचण्डको विकल्प कसैले नखोजेको भन्दै उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्ने बताए।
‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन। अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु’, उनले भने, ‘ उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔं।’















प्रतिक्रिया