
काठमाडौं, २० साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाजको रूपान्तरण र विकास नेकपा एमालेले मात्रै गर्न सक्ने बताएका छन् ।
नेकपा एमाले चितवन जिल्ला कमिटीले हिजो शुक्रबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले पपुलिजम (लोकप्रियतावाद)ले समाज परिवर्तनको नेतृत्व नगर्ने बताउँदै मुलुक परिवर्तन गर्नसक्ने शक्ति एमाले मात्रै भएको बताएका हुन् ।
पपुलिजम यथास्थितिवादको हिमायती र पोषक भएको बताउँदै उनले यसले दुनियाँमा कहीँ पनि समाज परिवर्तनको नेतृत्व नगरेको चर्चा गरे । झट्ट हेर्दा जनताको पक्षमा देखिने लोकप्रियतावादीहरू जनताको भावनामा खेलिरहने विचार व्यक्त गर्दै महासचिव पोखरेलले उनीहरूले जनतालाई अग्रगामी दिशातिर लैजान नेतृत्व नगर्ने जिकिर गरेका हुन् ।
‘क्रान्तिकारीसँग ठोस लक्ष्य, उद्देश्य र गन्तव्य हुन्छ तर लोकप्रियतावादीहरूसँग न कुनै ठोस उद्देश्य हुन्छ न कुनै गन्तव्य । क्रान्तिकारी र लोकप्रियतावादीहरूबीचको अन्तर यही हो,’ महासचिव पोखरेलले भने । लोकप्रियतावादले जनताको भावनामा खेल्ने हुँदा समस्याको समाधान यो होइन भन्ने कुरामा स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।
‘नेपाली समाजका चुनौती र त्यसलाई समाधान गर्ने बाटोका सम्बन्धमा स्पष्ट नहुन्जेलसम्म नेपालमा लोकप्रियतावादी वैकल्पिक शक्तिको कुरा हावादारी हो,’ नेपालमा अहिले देखापरेको लोकप्रियतावादका सन्दर्भमा महासचिव पोखरेलले भने, ‘वैकल्पिक शक्ति निर्माण गर्नेहरू चुनौतीसँग जोडिनुपर्छ, नेपालमा अहिले देखापरेका चुनौतीहरू राजनीतिक अस्थिरता, सामाजिक अराजकता, साँस्कृतिक मूल्यमान्यतामा तीब्ररूपमा भइरहेका विघटन र सङ्कटग्रस्त अर्थतन्त्रको समाधानका सन्दर्भमा वैकल्पिक शक्तिको कुनै सोच, दृष्टिकोण, केही पनि छैन ।’
वास्तवमा गठबन्धन अलोकप्रिय भएको समयमा नेकपा एमाले लोकप्रिय बन्न थालेपछि एमालेलाई कमजोर पार्ने, राष्ट्रिय शक्तिका रूपमा स्थापित हुनबाट रोक्ने, मुलुकमा अस्थिरता कायम गर्ने बाह्य तथा आन्तरिक उद्देश्यका साथ पपुलिजमलाई जन्म दिने काम भएको महासचिव पोखरेलको भनाइ छ ।

छ दशक लामो सङ्घर्ष गरेका प्रमुख दलहरूलाई पुराना भए भन्ने भाष्य खडा गर्ने प्रयास भएको चर्चा गर्दै महासचिव पोखरेलले हरेक पार्टीहरूले पाँच/पाँच वर्षमा आफ्ना नीति र नेतृत्व अद्यावधिक गर्ने हुँदा पार्टीहरू नयाँ र पुुराना नहुने उनले स्पष्ट पारे । ‘अमेरिकामा डेमोक्र्याट र रिपब्लिकनहरू सयौँ वर्षदेखि अमेरिकी समाजको परिवर्तनको नेतृत्व गरिरहेका छन् । बेलायतमा लेवर पार्टी र कन्जरभेटिभ पार्टी सयौँ वर्षदेखि ब्रिटिस समाजको नेतृत्व गरिरहेका छन्, ती पार्टीहरूको विकल्प खोज्नुपरेको छैन ।’
नेपालमा राजनीतिक परिवर्तनका लागि छ दशकसम्म सङ्घर्ष गरेर आएका पार्टीहरूको विकल्प खोज्ने वेला भएको होइन भन्दै महासचिव पोखरेलले यो गलत भाष्य खडा गर्न खोजिएको वताउनुभयो । ‘नेपाली समाज रूपान्तरणको नेतृत्व दिन सक्छौं, दिन्छौं भन्ने विश्वासका साथ हामी एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने गरी अगाडि बढेका छौं,’ उनले भने ।
प्रशिक्षणका क्रममा पार्टीका सबै काम मिसन–०८४ लाई लक्ष्यित गरेर अगाडि बढाइएको बताउँदै महासचिव पोखरेलले केन्द्रीय कमिटीको पाँचौँ बैठकले गरेको कार्य विभाजन अनुसार केन्द्रीय कमिटी सदस्यलाई पालिकाको इन्चार्जको जिम्मेवारी दिइएको हुँदा पालिका तहमा प्रदेश र जिल्लाबाट खटिएकाहरूको समेत परामर्शमा कार्ययोजना तर्जुमा गरी सिङ्गो पार्टी कमिटी काममा खट्न निर्देशन दिए ।
उनले पार्टी कामलाई वडा र टोलसम्ममात्र नभई घर–घरसम्म पुर्याउन निर्देशन दिएका छन् ।















प्रतिक्रिया