
काठमाडौं, १८ साउन । सुन तस्करी प्रकरण र त्यसमा संलग्नहरूबारे समाचार लेखेको भन्दै पत्रकार उजिर मगरलाई ज्यान मार्ने धम्की दिइएको छ ।
नेपाल पत्रकार महासंघका पूर्वमहासचिव समेत रहेका पत्रकार मगरलाई सुन तस्करीमा पक्राउ परेका दावा छिरिङबारे समाचार लेखेको भन्दै उनका आफन्तले ज्यान मार्ने धम्की दिनुका साथै सामाजिक सञ्जालबाट बदनामी गरिरहेको नेपाल पत्रकार महासंघले जनाएको छ ।
महासंघका अनुसार पूर्वमहासचिव मगरको बाइलाइनमा यही साउन १६ गते मंगलबार ‘लोकान्तर डट्कम’ मा ‘सुनकाण्डमा माओवादीका रोल्पाली नेतालाई टाउको दुखाइ बनेकी थबाङकी अमला’ शीर्षकमा सुन तस्करीमा संलग्न भनी अनुसन्धानका लागि पक्राउ परेका तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङबारे समाचार सम्प्रेषण गरेका थिए ।
सोही विषयलाई लिएर अनुसन्धानका लागि पक्राउ परेका दावा छिरिङकी पत्नी अमला रोकाका बहिनी ज्वाइँ (बिन्दु बुढाका) श्रीमान बागलुङ, ढोरपाटन–४, वर्ष ४६ का खगेन्द्र छन्त्याल, कमलाकी भान्जी दीपा श्रेष्ठ, दाइ अमरले आफूलाई ज्यान मार्ने धम्की दिनाका साथै सामाजिक सञ्जालबाट बदनाम गर्ने काम गरिरहेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै छिरिङसँग नाता जोडेका खगेन्द्र छन्त्यालले पनि पूर्वमहासचिव मगरलाई ‘जहाँ भेटिन्छ त्यहीँ मार्ने’ धम्की दिंदै आएको जानकारी प्राप्त भएको पनि महासंघले जनाएको छ ।
‘समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोज्नसकिने प्रावधान र स्थापित पद्धति हुँदाहुँदै पत्रकारलाई ज्यान मार्ने धम्की दिनु र सामाजिक सञ्जालमा बदनाम गर्ने काम हुनु अत्यन्त निन्दनीय तथा प्रेस स्वतन्त्रताको ठाडो उल्लघंन हो,’ विज्ञप्तिमा भनिएको छ ।
सुन तस्करीको आरोपमा पक्राउ परेका छिरिङको नाममा पत्रकारमाथि खुलेआम सुरक्षा चुनौती आउनुले पत्रकारको सुरक्षाको विषय गम्भीर बनेको महासंघको ठहर छ ।
महासंघले घटनालाई गम्भीरतापूर्वक लिई दोषीमाथि कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारसँग जोडदार माग समेत गरेको छ ।

यस्तै, महासंघले नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष एवम् दैनिकी डटकमका प्रधानसम्पादक माधवप्रसाद तिवारीले सामाजिक सञ्जालमा उठाएका गम्भीर विषयलाई लिएर प्रेस काउन्सिल नेपालले जवाफ माग गरी पत्र काटेकोप्रति पनि आपत्ति जनाएको छ ।
आज विज्ञप्ति जारी गर्दै महासंघले सञ्चारमाध्यमको विषयवस्तुको नियमन गर्ने दायित्व बाकेको प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा अभिव्यक्त गरेको विषयलाई लिएर सञ्जाल प्रयोगकर्तालाई पत्र लेख्नु, सैद्धान्तिक र व्यवहारिक रूपमासमेत उचित नभएको जनाएको छ ।















प्रतिक्रिया