
काठमाडौं, १५ साउन । नेकपा एमालेबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरूको प्रदेशस्तरीय भेलाले १५ बुँदे प्रतिवद्धता जारी गरेको छ ।
लुम्बिनी प्रदेश संगठन कमिटीको आयोजनामा नेपालगञ्जमा सम्पन्न प्रदेशस्तरीय दुई दिवसीय जनप्रतिनिधिहरूको भेला एवम् प्रशिक्षण कार्यक्रमबाट सो प्रतिबद्धता जारी गरिएको हो ।
यही साउन १३ र १४ गते सञ्चालन भएको कार्यक्रम नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेललगायत नेताहरूले प्रशिक्षण दिएका थिए ।
यस्तो छ प्रतिबद्धता–
नेपालगञ्ज प्रतिवद्धता पत्र
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संगठन कमिटीको आयोजनामा नेपालगन्जमा सम्पन्न प्रदेशस्तरीय दुई दिवसीय जनप्रतिनिधिहरूको भेला एवं प्रशिक्षण कार्यक्रमबाट नेपालगन्ज प्रतिबद्धतापत्र सर्वसम्मत रूपमा पास गरिएको छ । जुन यस प्रकार छ:
१. संविधानत: बन्नु पर्ने संघीय निजामती ऐन, तिनै तहका सरकारहरूवीचको समन्वय र अधिकारको बाँडफाडमा हुनुपर्ने स्पष्टता र प्रदेश तथा स्थानीय तहवाट बनाउनुपर्ने कतिपय कानूनहरू बन्न नसक्दा संघीयताको अभ्यास र तिनै तहका सरकारहरूको प्रभावकारी परिचालन हुन सकेको छैन । वर्तमान गठबन्धन सरकार संघीयताको कार्यान्वयनमा देखिएको यस किसिमका समस्याहरूप्रति उदासीन छ । यस अवस्थामा यो भेलामा सहभागी सम्पूर्ण जनप्रतिनिधिहरू र नेकपा (एमाले) को सिंगो पार्टीपक्ति संघीयताको मर्म अनुरूप गर्नुपर्ने सबै बांकी कार्यहरू सम्पन्न गर्नको निम्ति संवद्ध सबै निकायहरूलाई जिम्मेवार बनाउन कृयाशील हुने प्रतिवद्धता व्यक्त गर्दछ ।
२. भड्किलो, खर्चिलो र निर्वाचनका क्रममा देखिने अन्य विकृति र विसंगतिका कारण उम्मेदवार हुने र जनप्रतिनिधि बन्ने कुरा धनाढ्य वर्गको मात्रै पहुँचको विषय बन्दैछ । यो प्रवृत्ति हाम्रो पार्टीभित्र पनि मौलाउन खोज्दैछ । यस गलत प्रवृत्तिका विरुद्ध जुट्दै निम्न वर्गको नेता र कार्यकर्ताहरू पनि निर्वाचन लड्ने र जनप्रतिनिधि बन्न सक्ने गरी निर्वाचन प्रणालीमा सुधार गर्न र पार्टीभित्र पनि यदाकदा आउन सक्ने धनी मान्छे खोज्दै हिड्ने वर्ग विचलित गलत प्रवृतिका विरुद्ध जुट्न यो भेलाका जनप्रतिनिधि र सम्पुर्ण पार्टी पंक्ति सकृय हुने प्रतिबद्धता व्यक्त गर्दछ ।
३. यो भेला संसद (केन्द्र र प्रदेश) तथा स्थानीय सभाहरूमा वजेट निर्माणका क्रममा देखा पर्न सक्ने क्षेत्रीयतावादी चिन्तन, मन्त्री र नेतामुखी प्रवृतिका विरुद्ध सन्तुलित र समन्यायिक सिद्धान्तका आधारमा योजना निर्माण र बजेट विनियोजन हुने परिपाटी स्थापित गर्न सकृय रहने प्रतिवद्धता व्यक्त गर्दछ ।
४. पार्टी कमिटीहरूलाई आफ्ना निर्णयहरूप्रति उत्तरदायी बनाउने तथा पार्टी सदस्यहरूको सार्वभौम अधिकार सुनिश्चित हुने गरी स्थानीय एवं संसदीय निर्वाचनहरूमा पार्टी सदस्यहरूबाट निर्वाचित हुने उम्मेदवार छनौटको विधि अवलम्बन गर्न यो भेला आफैमा प्रतिबद्धहुँदै पार्टी केन्द्र समक्ष सुझाव पेश गर्दछ ।
५. यो भेला प्रतिनिधिसभामा प्रत्यक्ष तथा समानुपातिक निर्वाचित, राष्ट्रियसभा, प्रदेशसभा प्रत्यक्ष तथा समानुपातिक, जिल्ला समन्वय समिति पदाधिकारी एवं सदस्य, मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष एवं वडाध्यक्ष सदस्य सबै खाले जनप्रतिनिधिहरूको बीचमा विभेदको अवस्था आउन र अनुभूति हुन नदिन एक आपसमा समन्वय, समझदारी र सहकार्य गर्दै देश र जनताप्रतिको अभिभारा पुरा गर्न कृयाशील हुने प्रतिवद्धता व्यक्त गर्दछ ।
६. आपसी सल्लाह, संवाद र निर्णयको माध्यमबाट संवद्ध पार्टी कमिटी र जनप्रतिनिधिहरूवीच रहेका सम्पूर्ण अन्तरविरोधहरूको समाधान गर्दै पार्टी कमिटीले जनप्रतिनिधिलाई स्थापित गर्न लाग्ने र जनप्रतिनिधि पार्टी निर्माण र परिचालनमा सहयोगी बन्ने कुरामा यो भेला प्रतिवद्धता व्यक्त गर्दछ ।
७ नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण र सुन तस्करी जस्ता काण्डहरूले नेपाल राष्ट्र र नेपाली जनताको शीर झुकाएको छ । सरकारले पशुपतिनाथ मन्दीरमा जडीत सुनको जलहरीलाई पित्तलको भनेर प्रचार गर्ने र हाम्रो पार्टीका अध्यक्ष एवं प्रतिपक्षी दलको नेतामाथि नै लान्छना लगाउन खोज्यो । यद्यपि पछि छानवीनले त्यो कुरालाई खण्डित गर्यो । सरकारले राजनीतिक दाउपेच र प्रचारवाजीमा होईन तथ्यका आधारमा भ्रष्टाचारजन्य सम्पूर्ण फाइलहरूको छानवीन गर्दै दोषीहरूलाई दण्डित गरोस, हल्ला र राजनीतिक स्टन्ट मात्रै नगरोस् भन्ने कुरामा यो भेला सरकारलाई सचेत गर्न चाहन्छ र नेकपा (एमाले) नै मुलुकको सुशासन अभियानको वास्तविक नेता र भ्रष्टाचार विरुद्धको अभियन्ता हो भन्ने कुरालाई उद्घोष गर्न चाहन्छ ।
८. यो भेला नेकपा (एमाले) बाट विजयी सम्पुर्ण जनप्रतिनिधिहरू विकासप्रति प्रतिवद्ध हुँदै जनचाहना परिपुर्ति गर्न, सुशासन कायम गर्न र जनताको सेवा प्रवाहलाई सहज, छिटो र गुणस्तरीय बनाउन सम्पुर्ण रूपमा कृयाशील हुने प्रतिबद्धता व्यक्त गर्दछ ।
९. संविधान र कानुन प्रदत्त अधिकारको प्रयोग गर्दै कसैको हस्तक्षेप र दबाव विना सुयोग्य जनप्रतिनिधिको भूमिका निभाउन सम्पूर्ण जनप्रतिनिधिहरू स्वतन्त्र छन् । महिला भएवापत पितृसत्तात्मक सोचवाट पीडित हुनुपर्ने र दवाव झेल्नुपर्ने अवस्था सैह्य हुन सक्दैन । लैङ्गिक विभेदजन्य नकारात्मक प्रवृतिका विरुद्ध जुध्न यो भेला सबै जनप्रतिनिधि एवं सम्पूर्ण पार्टी पङ्क्तिलाई कृयाशील बनाउने प्रतिवद्धता व्यक्त गर्दछ ।
१०. हाम्रो पार्टी नेकपा (एमाले) बाट निर्वाचित हुने पालिकाका प्रमुख, उपप्रमुख एवं वडाध्यक्ष जस्ता कार्यकारी भूमिकामा यस प्रदेशमा पनि महिला प्रतिनिधित्वको न्युनता महशुस गर्दै आगामी दिनमा यो संख्यालाई वृद्धि गर्ने उद्देश्यले महिला सशक्तिकरण र नेतृत्व विकासमा सहयोगी बन्ने र सबै पार्टीपंक्ति एवं कमिटीहरूलाई परिचालन गराउने कुरामा यो भेला प्रतिवद्धता व्यक्त गर्दछ ।
११. यो भेला स्थानीय तहको वडामा कार्यरत वडाध्यक्ष एवं सदस्यहरू जनसेवा र जन सरोकारका सवालहरूमा प्रत्यक्ष संबन्ध राख्ने जनप्रतिनिधि भएको कुरालाई महशुस गर्दै उनीहरूलाई थप राजनीतिक एवं आर्थिक अधिकारले सवलीकरण गर्न कृयाशील हुने प्रतिवद्धता व्यक्त गर्दछ ।
१२. यो भेला जनताले भोग्नु परिरहेका मलखादको न्युनता, महँगी, वर्षातको बेला हुने बाढी पहिरो, डुवान जस्ता समस्याहरूप्रति संवेदनशील हुँदै यि सबै समस्याहरूको समाधानमा आवश्यक पहलकदमी लिन पार्टीपंक्तिलाई आह्वान गर्दछ र समयमै सरकारको ध्यान जाओस् भनेर ध्यानाकर्षण गराउन चाहन्छ ।
१३. यो भेला प्रदेश संगठन कमिटीको निमन्त्रणालाई स्वीकार गरेर आउनु भई भेलाको समुद्घाटन र सारगर्भित सम्बोधन मार्फत जनप्रतिनिधिहरूलाई प्रशिक्षित गरिदिनु भएकोमा श्रद्धेय पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीप्रति हार्दिक आभार व्यक्त गर्दछ र, प्रशिक्षणमुलक मन्तव्य राखिदिनु भएकोमा पार्टीका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेल, महासचिव कमरेड शंकर पोखरेल, सचिव एवं प्रदेश इन्चार्ज कमरेड पद्मा अर्याल र केन्द्रीय विभाग सदस्य क. होमनारायण श्रेष्ठप्रति धन्यवाद ज्ञापन गर्दछ ।
१४. नेपालगन्जमा आयोजित यो कार्यक्रमलाई भव्यरूपमा सम्पन्न गर्न यसको व्यवस्थापनमा खट्नुहुने बाके जिल्ला कमिटीका कमरेडहरू, पार्टीपंक्ति, जनसंगठनका कमरेडहरू, पत्रकार मित्रहरू, सुरक्षाकर्मी एवं संवद्ध सबै सहयोगीहरूप्रति यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
१५. अन्त्यमा यो भेला पार्टी केन्द्रले अगाडि सारेको मिशन ८४ र मिशन ५.१ प्रतिशतलाई यस प्रदेशको तर्फबाट सफलीभूत बनाउन कृत सङ्कल्पित हुँदै जनसेवा, पार्टी निर्माण र परिचालनमा अहोरात्र खट्ने अठोट व्यक्त गर्दछ ।
हार्दिक अभिवादन सहित !
राधाकृष्ण कँडेल
अध्यक्ष
मिति २०८० साउन १५ गते















प्रतिक्रिया