३० आश्विन २०८३, शुक्रबार

गठबन्धन सरकारका कारण मुलुकको अर्थतन्त्र सङ्कटमा पर्‍यो : शंकर पोखरेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले देशको अर्थतन्त्र सङ्कटमा पारेको बताएका छन् ।

नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको दशौँ बैठकलाई आज पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले गठबन्धन सरकार र माओवादीका अर्थमन्त्रीले करको दर हेरफेर गरेका कारण देशको अर्बौं रुपैयाँ राजश्व नोक्सानी भएको र अर्थतन्त्र सङ्कटमा परेको बताएका हुन् ।

यस्तै, उनले जनताको विद्रोही मनोविज्ञानलाई राष्ट्र निर्माणको साझा भावनामा परिणत गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

यसैबीच, सोही बैठकमा एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी र नेतृत्वविरुद्ध भइरहेको घेराबन्दीको सामना गर्न विभागले योजनाबद्ध प्रचार योजना बनाएर अघि बढेको बताएका छन् ।

बैठकमा प्रचार विभागका सचिव गगन विष्टले पेस गरेको वार्षिक कार्ययोजना छलफलपछि पारित गरिएको छ । यस्तै, बैठकले प्रचारको कामलाई व्यवस्थित बनाउन ११ वटा डेस्क र ९ वटा प्रादेशिक जिम्मेवारीसहित प्रचारका योजनालाई देशैभरि व्यवस्थित बनाउने निर्णय गरेको छ ।

बैठकमा प्रदेशका प्रचार विभागको संयोजन गरिरहनुभएका पार्टी पोलिटव्युरो सदस्य सूर्य थापासहित निरज आचार्य, राजीव पहारी, सुवास देवकोटा तथा प्रदेशका प्रचार विभाग प्रमुखहरूको पनि सहभागिता थियो ।