३० आश्विन २०८३, शुक्रबार

मधेशमा भएका प्रहरी ज्यादतीका घटनाप्रति इन्सेकको गम्भीर ध्यानाकर्षण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । मधेश प्रदेशमा श्रृङ्खलाबद्ध रूपमा भइरहेका प्रहरी ज्यादतीका घटनाहरूप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज मानव अधिकार ज्यादती पीडितको सहायताका लागि जिल्ला प्रहरी कार्यालय, सप्तरी पुगेका इन्सेकका जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलमाथि असई राजेश्वर महतोले कार्यालय परिसरमा कुटपिट गरेको घटनाले प्रहरी ज्यादतीको निरन्तरता झल्कने इन्सेकले बताएको छ ।

लहान, सिराहाबाट उजुरी दर्ता गराउन राजविराज पुगेका स्थानीयलाई सहयोग गर्न राजविराजस्थित जिल्ला प्रहरी कार्यालय गएका बेला पोखरेललाई असई महतोले कुटपिट गरेको पीडितले बताएका छन् । आँखा र संवेदनशील अङ्गमा चोट लागेर घाइते भएका पोखरेलको उपचार गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा भइरहेको जनाइएको छ ।

‘मानव अधिकारको परिपालना गर्दै शान्ति सुरक्षा बहाल गर्ने दायित्व निर्वाह गर्नुपर्ने जिम्मेवार निकाय प्रहरी कार्यालय परिसरभित्र सुपरिचित मानव अधिकार रक्षक र पत्रकारमाथि गुण्डागर्दीको शैलीमा बल प्रयोग गर्ने प्रहरीउपर कारबाही अघि बढाएर मानव अधिकारप्रतिको प्रतिबद्धतामा कायम रहन हामी सरकार समक्ष जोडदार माग गर्दछौँ,’ इन्सेकका अध्यक्ष कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘मधेश प्रदेशमा भइरहेका अनुचित र अत्यधिक बल प्रयोग, यातना र हिरासतको मृत्युका घटनाहरूका सम्बन्धमा गहन छानबिन प्रारम्भ गरी जुनसुकै तहका दोषी प्रहरीउपर अबिलम्व कारबाही चलाउन नेपाल सरकारसमक्ष माग गर्दछौँ । हामी सरकारसँग मानव अधिकार उल्लङ्घनका यस्ता घटनाप्रति शुन्य सहनशीलता अपनाउन ध्यानाकर्षण गराउँदै देशका सबै भूभागका मानव अधिकार अवस्थाको देशभित्र र बाहिरका मानव अधिकार संस्थाहरूबाट निरन्तर मिहिन अनुगमन भइरहेको जानकारी गराउन चाहन्छौँ ।’

जनकपुरकी नवविवाहित आरती साहको शङ्कास्पद मृत्युको घटनाका सम्बन्धमा उजुरी दिने माइती पक्षका परिवारजनलाई जिल्ला प्रहरी कार्यालय, धनुषामा बोलाएर पहिले तयार गरिएको उजुरीविपरीतको बयानमा सही छाप गर्न दबाब दिइएको घटना केही समयअघि सार्वजनिक भएको थियो । मृतक आरती साहका परिवारजन उक्त घटनामा धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले यातना दिएको बताउँदै राजधानीको माइतीघर मण्डलामा विगत डेढ महिनादेखि धर्नामा रहेका छन् ।