
काठमाडौं, १५ साउन । स्वास्थ्य र मेडिकल शिक्षा सुधारको माग राख्दै पटक पटक अनसन बस्दै आएका डा. गोविन्द केसीले पुन: अनसन बस्ने घोषणा गरेका छन् ।
यसअघि सरकारले चिकित्सा शिक्षा सुधारका लागि गरेका सहमतिहरू कार्यान्वयन गर्न उनले १४ दिनको समय सीमा तोकेर अनसन घोषणा गरेका हुन् ।
समयसीमाभित्र सहमति कार्यान्वयन नभएका उनले यही सायन २९ गतेदेखि असनसन सुरू गर्ने चेतावनी दिएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले अनसनको घोषणा गरेका हुन् ।
आन्दोलनका कारण विभिन्न सुधारहरू भए पनि राज्यले आफूसँग धेरै महत्वपूर्ण सम्झौताहरू गरेको तर कार्यान्वयन नगरेकोप्रति आक्रोश व्यक्त गर्दै उनले भनेका छन्, ‘हामी लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि संघर्षरत छौं । पछिल्लो दशकभर हामीले बारम्बार गरेको सत्याग्रह लगायतको आन्दोलनका कारण विभिन्न सुधारहरु भएका छन् तर राज्यले धेरै महत्वपुर्ण सम्झौताहरु कार्यान्वयन गरेको छैन । बरु उल्टै अघि बढेका सुधारका काम मेडिकल माफियाको स्वार्थमा उल्ट्याउने काम गरिरहेको छ ।’
आफूसँग भएका सहमति कार्यान्वयन र सबै मागहरू पूरा नभएमा यही साउन २९ गतेदेखि सत्याग्रह सुरू गर्ने विज्ञप्तिमा उल्लेख छ ।
शुल्क बढाउनेसम्बन्धी सीटीईभीटीको निर्णय खारेज गर्ने, सबै प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पुर्याउने तथा सञ्चालनमा ल्याउने, एकीकृत स्वास्थ्य शिक्षा (विज्ञान) प्रतिष्ठान र पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानुन बनाउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउने र स्वार्थको द्वन्द्व रोक्न काननुनी व्यवस्था गर्ने, सरकारी अस्पतालहरुमा विद्धमान शैय्या अनुरुप स्थायी दरबन्दीको व्यवस्था गर्ने, सरकारी स्वास्थ्य संस्थाहरुबाट नि:शुल्क औषधि तथा उपचार प्रदान गर्नुपर्ने कानुनी प्रावधान कडाईका साथ लागू गर्नेलगायत सरकारसँग भएका सहमति कार्यान्वयन हुनुपर्ने उनको माग छ ।
















प्रतिक्रिया