
काठमाडौं, १३ साउन । सभामुखको समेत समर्थनमा गठन गरिएको सरकार सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपनि अर्को सरकार बनाउन कांग्रेस–माओवादीसहितका गठबन्धन दलहरूलाई सकस परिरहेको छ ।
सभामुखलाई राजीनामा गराएर सरकार गठनको प्रयास गरिरहेका दलहरूले अझै कुनै सहमति जुटाइसकेका छैनन् । सभामुखले राजीनामा नदिने अडान कायम राखेकाले सरकार गठनमा थप सकस परिरहेको हो ।
यस्तै, पछिल्लो समय भएको सुन तस्तकरी प्रकरणमा सरकारले भरिया समातेर सुनका मालिक र योजनाकारहरू उम्काएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको आलोचना गरेका छन् ।
हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–
१. सरकार गठनका लागि सकस : कोशी प्रदेशमा सरकार गठनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूबीच छलफल, राप्रपालाई मनाउने गठबन्धनको प्रयास जारी ।
२. देश बनाउने पार्टी एमाले : देशमा नेकपा एमालेबाहेक अर्को विकल्प नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ, देशलाई हेर्न र फेर्न सक्ने दृष्टिकोण अरू कुनै पार्टीसँग नरहेको धारणा ।
३. खतरामा गाउँ : हुम्लाको तीन गाउँमा पहिरो जाँदा तीन गाउँमा व्यापक क्षति, सर्केगाड गाउँपालिका वडा–८ रादेउ, २ रिप गाउँ र ३ उनापानीमा पहिरो जाँदा पुल–पुलेसा, खेतबारी, घर र सडकहरूमा क्षति, रादेउको पुरै गाउँ नै जोखिममा ।
४. जो सुकै भए पनि कारबाही हुन्छ : भ्रष्टाचारमा जुनसुकै दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भएपनि कारबाही हुने गृहमन्त्री नारायणकाजी श्रेष्ठको दाबी, मास्टर्स वा पीएचडी गरेकाहरू सुनकाण्डका प्रमाण नष्ट गर्नेतिर केन्द्रित भएको भनाइ ।
५. रवि सशंकित : सरकारले सुन तस्करीका मालिकलाई जोगाउन खोजेको हो कि भन्ने आशंकाले आफूहरूले संसदमा आवाज उठाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाइ, भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिए पनि पर्याप्त नभएको टिप्पणी ।
६. पीडितलाई न्याय : सप्तरीमा च्यातियो मिटरब्याजीका पौने तीन करोडका तमसुक, पीडितहरूका १२ बिघा जग्गा फिर्ता
७. घर भत्काउने पक्राउ : बझाङको बित्थडचिर गाउँपालिकामा करण ओखेडाले बनाइरहेको घर भत्काउँदै तीनजना स्थानीय पक्राउ, लालपुर्जा भएको आफ्नै जमिनमै घर बनाउँदा पनि स्थानीयले सार्वजनिक जग्गा भन्दै घर भत्काइदिएको ओखेडाको भनाइ ।
८. मृत फेला : तनहुँको व्यास नगरपालिका–१० स्थित मादी नदीमा शनिबार एक पुरुषको शव फेला, अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको प्रहरीद्वारा जानकारी ।
९. फुटपाथ व्यवसायी आन्दोलित : आफूहरूलाई गरिखान दिनुपर्ने माग गर्दै फुटपाथ व्यवसायीले गरे काठमाडौं महानगरपालिकाविरूद्व प्रदर्शन, आफूहरूलाई व्यवसाय गर्ने ठाउँ महानगरपालिकाले तोकिदिनुपर्ने माग ।
१०. अझै केही दिन वर्षा : नेपालमा अझै केही दिन निरन्तर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी, मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको भनाइ ।
११. बाघ दिवस : दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य पूरा भएकामा सबैलाई दिए बधाइ ।
१२. भरतपुर घुमौँ : भरतपुर भ्रमण, २०२४ का अवसरमा ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा गरिने, हालसम्म ५२ देशका चितवनवासीसँग प्रतिनिधिमूलक रूपमा सम्पर्क भइसकेको जानकारी ।
१३. सधैँ सकस : पहिरो गएपछि आज बिहानैदेखि अवरूद्व मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी नै सञ्चालनमा, दैनिक हजारौँ यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य ।
१४. सैन्य हेलिकोप्टर दुर्घटना : सैनिक अभ्यासका क्रममा अष्ट्रेलियाली सेनाको एउटा हेलिकोप्टर प्रशान्त महासागरमा दुर्घटना, चालक दलका चार सदस्य बेपत्ता ।
१५. टोली भारत प्रस्थान : त्रिभुवन आर्मी फुटबल क्लब एशियाको प्रतिष्ठित फुटबल प्रतियोगिता डुरान्ड कप खेल्न भारत प्रस्थान, प्रतियोगिता कोलकत्ता, गुवाहाटीलगायतका विभिन्न शहरमा हुने ।















प्रतिक्रिया