३० आश्विन २०८३, शुक्रबार

एमालेका सबै जनसंगठनले वेबसाइट र सामाजिक सञ्जाल सञ्चालन गर्ने, मुखपत्र अनिवार्य

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । नेकपा एमालेका २३ वटै जनसंगठनहरूले आ–आफ्नै वेबसाइट र सामाजिक सञ्जालका खाताहरू सञ्चालन गर्ने भएका छन् ।

हिजो शुक्रबार भक्तपुरको डोलेश्वरमा बसेको जनसंगठन समन्वय संयन्त्रको १२औँ बैठकले सबै जनसंगठनले गरेका नियमित काम र उठाएका प्रमुख मुद्दाहरूलाई लक्षित वर्गसम्म पुर्‍याउन वेबसाइट निर्माणका साथै सबै प्रकारका सामाजिक सञ्जालका खाताहरू सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै संगठनका गतिविधिहरू समेटिएको वार्षिक मुखपत्र प्रकाशन गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ । साथै, आवश्यकता अनुसार बुलेटिन र दर्पण समेत निर्माण गरी सूचना र जानकारी सम्प्रेषण गर्न सकिने निर्णय बैठकले गरेको छ ।

‘जनसंगठनले गरेका नियमित काम र उठाएका प्रमुख मुद्दाहरूलाई निर्वाध रूपमा आ–आफ्नो समुदायमा पुर्‍याउने सम्बन्धित जनसंगठनले आ–आफ्नो वेबसाइट बनाउने, फेसबुक पेज, टिकटक युट्युव निर्माण गरी सञ्चालन गर्ने र वार्षिक रूपमा मुखपत्र प्रकाशन गर्ने तथा आवश्यकता अनुसार बुलेटिन र दर्पण निर्माण गरी सूचनाको सही सम्प्रेषण संश्लेषण र विश्लेषण गर्ने प्रतिवद्धता व्यक्त गर्दछ,’ संयन्त्रको बैठकले पारित गरेको समसामयिक राजनीतिक प्रस्तावमा उल्लेख छ ।

यस्तै, जनसंगठनहरूलाई व्यापक जनसमुदायमा पुर्‍याउनका लागि जनसंगठनका संरचनाहरूलाई आ–आफ्नो विधान अनुसार प्रदेश, जिल्ला, पालिका, वडा, टोल तहसम्म विस्तार गर्नुपर्ने, त्यसका लागि जनसंगठनहरूका प्रदेश र जिल्ला तहका अधिवेशनहरू असोज मसान्तभित्र सम्पन्न गर्ने र पालिका तहका अधिवेशन र संगठन निर्माण अभियान मंसिर महिनाभर सन्चालन र सम्पन्न गर्नुपर्ने पनि प्रस्तावमा उल्लेख छ ।

यसैगरी, पार्टी कामको व्यवस्थापन गर्न पार्टीले स्कुल, प्रचार र जनसंगठनको कामलाई उच्च प्राथामिकतामा राखेको उल्लेख गर्दै त्यसलाई मध्यनजर गरी विचारसहितको जनसंगठनको निर्माण र विधि तथा पद्दतीसहितको संगठनात्मक जीवनलाई प्रभावकारी बनाउन सबै जनसंगठनले रचनात्मक चिन्तन र स्वतन्त्र कार्य क्षमता भएको कार्यकर्ता निर्माण गरी गतिशील, जुझारु संगठन निर्माण र परिचालन गर्ने प्रतिवद्धता बैठकले व्यक्त गरेको छ ।