
काठमाडौं, १३ साउन । पोर्चुगल जान हिँडेका १७ जना नेपाली बेलारुसमा अलपत्र परेका छन् ।
उनीहरूलाई कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थायी घर भएका दीपेश शाहीले अलपत्र पारेका हुन् ।
शाहीले गत चैत २८ गते पोर्चुगल लैजानै भन्दै आफूसहित १८ जनालाई नेपालको एयरपोर्ट हुँदै मस्को पुर्याएको पीडित राम रोकायले जानकारी दिए । मस्को पुगेपछि एजेन्ट शाही अर्कै देशतर्फ (बोस्निया) लागेको र अन्य १७ जनालाई प्रवाश नाम गरेका भारतीय एजेन्टले रिसिभ गरेको उनको भनाइ छ ।
‘हामी चैत २८ गते दीपेश शाहीको माध्यमबाट पोर्चुगल लान्छु भनेर हामी नेपालको एयरपोर्ट हुँदै मस्को गयौँ । मस्को गएपछि प्रवाश भन्ने भारतीय नागरिकले हामीलाई एयरपोर्टमा रिसिभ गरेर होटेलमा लैजानुभयो,’ पीडित रोकायले भने । आफूहरूलाई मस्कोबाट प्लेन टु प्लेन पोर्चुगल लैजान्छौँ भने पनि त्यहाँबाट ट्याक्सीमा हालेर बेलारुस पुर्याइएको उनले बताए ।
पीडित रोकायका अनुसार बेलारुसमा पनि ८–१० दिन राखेर त्यहाँबाट पाकिस्तानी एजेण्टको साथ लगाएर पोर्चुगलका लागि पानी नै पानी भएको बाटोबाट लाट्भिया पुर्याइयो । उक्त समयमा लापिबिया प्रहरीले मोबाइल पनि नियन्त्रणमा लिएको र बेलारुसमै फिर्ता पठाएको उनले बताए ।
त्यसपछि आफूहरू अलपत्र अवस्थामा परेको पीडित रोकायले बताए । आफूहरू एक पाकिस्तानी मानिससँग भएको म्यापको आधारमा बेलारुसको पहिलेकै ठाउँमा फर्किएको उनले बताए । त्यसपछि फेरि १५–२० दिन बेलारुसको होटेलमै बसेरको उनको भनाइ छ ।
आफूहरूले नेपाल फर्काइदिन आग्रह गर्दा जर्मनबाट डिपोर्ट भएर आउनुपर्ने बताउँदै एजेन्टले फेरि पोल्याण्डतर्फ लगेको उनको भनाइ छ । पोल्याण्ड छिर्ने योजना पनि सफल नभएर बेलारुस नै फर्किँदा त्यहाँको प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर १५ दिन जेलमा राखेपछि आफ्नै खर्चमा नेपाल फर्काइदिएको पीडित रोकायले बताए ।
आफूहरूलाई दलालले फसाए पनि अरु नेपाली नफसुन् भन्ने आफूले चाहेको उनले बताए । पोर्चुगल पठाउँछौँ भनेर विभिन्न देशमा पुर्याएर विचल्ली बनाउने शाहीलाई कानुनी कारबाहीसहित आफूहरूको पैसा फिर्ता होस् भन्ने चाहेको उनले बताए । ‘हामीजस्ता अरु नफसुन् । हाम्रो लागेको पैसा फिर्ता आओस् । उसलाई कानुनी कारबाही होस् भन्ने हामी चाहन्छौं,’ उनले भने ।
उनका अनुसार लामो समय पानी भएको ठाउँमा हिँडेको कारण फर्किएका धेरै व्यक्तिहरू अहिले पनि विरामी अवस्थामै छन् । आफूहरू करिब तीन महिनापछि नेपाल फर्किएको उनले बताए ।
त्यस्तै, अर्का पीडित कञ्चनपुर बेलौरीका वियज रानाले पोर्चुगल पठाउँछु भनेर ठगी गर्ने शाहीलाई उचित कारबाही गर्न सरोकारवाला निकायहरूको ध्यानाकार्षण गराए ।
पोर्चुगल पुर्याएर भनेअनुसारको काममा लगाउन नसके लागेको पूरै पैसा फिर्ता गरिदिने शर्तमा शाहीलाई आफूहरूले पैसा बुझाएको पीडितहरूको भनाइ छ ।
पोर्चुगल जानका लागि आफूले शाहीलाई १४ लाख रूपैयाँ बुझाएको पीडित रोकायाले बताए ।















प्रतिक्रिया