
काठमाडौं, १३ साउन । जातीय विभेदका घटना बढ्दै गएको भन्दै एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेको छ ।
बझाङमा दलितको घर भत्काउने, जुम्लामा प्रेम विवाह गरेको निहुँमा आगो लगाउने काम भएको, पश्चिम रुकुममा भएको घटनालगायतका विभेद बढ्दै जाँदा पनि राज्य मौन भएको भन्दै अनेरास्ववियुले आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले व्यवस्था परिवर्तन भो अवस्था परिवर्तन कहिले, पीडितलाई न्याय देश, जातीय छुवाछुत अन्त्य गरौँ, जातीय विभेद बन्द गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा अनेरास्ववियुका महासचिव नरेश रोकायाले बझाङमा किसानले श्रमबाट कमाएको पैसाले आफ्नो लालपूर्जा भएको जग्गामा बनाएको घर भत्काउने काम भएको भन्दै चरम विभेद गर्नेलाई तत्काल कारबाही गर्नुपर्ने माग गरे । उनले पटक–पटक जातीय विभेद बढ्दै जाँदा पनि सरकार गम्भीर हुन नसकेकोमा दु:ख व्यक्त गरेका छन् ।
यस्तै, उनले विभेदका घटनाका दोषीहरूलाई कानूनी दायरामा ल्याउन नसके कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
हेर्नुहोस् भिडिओ–















प्रतिक्रिया