
काठमाडौं, १३ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा बाघको संख्या बढेसँगै विभिन्न खालको चिन्ता र चुनौती थपिएका बताएकी छिन् ।
अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बाघको संख्या बढ्दा मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने घटनामा समेत वृद्धि भएकाले सबैका लागि चिन्ता र चुनौतिको विषय बनेको बताएकी हुन् ।
‘बाघको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने घटनामा समेत वृद्धि भएको छ । यो हामी सबैको लागि चिन्ता र चुनौतीको विषय बन्न पुगेको छ,’ उनले शुभकामना सन्देशमा भनेकी छिन् ।
वन्यजन्तु र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्न बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार, बाघका लागि आहारा हुने वन्यजन्तुको सङ्ख्या वृद्धि गर्न घाँसे मैदानको विस्तार र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायहरूको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पुर्याउनुपर्ने उनको भनाइ छ ।
बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन एवम् आर्थिक विकासका लागि समेत महत्त्वपूर्ण हुने भएकाले संरक्षणका उचित उपायहरू अवलम्बन गर्दै यसलाई निरन्तरता दिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीहरूलाई उनले आह्वान पनि गरेकी छिन् ।
‘जैविक विविधताको संरक्षण एवम् स्वस्थ पारिस्थितिक प्रणालीको निर्माणमा समेत योगदान गर्ने दुर्लभ वन्यजन्तु पाटे बाघको संरक्षणमा अझ ऊर्जाशील भई लागिरहन विश्व बाघ दिवसले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दछु,’ उनको सन्देशमा उल्लेख छ ।















प्रतिक्रिया