
काठमाडौं, ११ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कतिपय ठूला देशले अन्य मुलुकमा द्वन्द्व र तनाव सृजना गर्दै युद्ध लाद्ने गरेकाले विश्व शान्तिका लागि यो चुनौतीका रूपमा रहेको बताएका छन् ।
वर्ल्ड पिस काउन्सिलको दक्षिण एसियाका प्रतिनिधिहरूसँग आज ललितपुरको च्यासदस्थित पार्टी कार्यालयमा भएको अन्तरक्रियामा अध्यक्ष ओलीले अहिले पनि विश्वमा ठूलो जनसङ्ख्या गरिबी र भोकमरीबाट ग्रस्त रहेको बताउँदै यस्तो अवस्थामा मानव जातिले शान्तिको अनुभूति गर्न नसक्ने धारणा व्यक्त गरेका हुन् ।
अध्यक्ष ओलीले असंलग्न परराष्ट्र नीति तथा सन्तुलित र तटस्थ छिमेक सम्बन्ध नेपालको परराष्ट्र नीति रहेको जानकारी गराए । ‘हामी शान्तिको चाहना राख्छौँ । त्यसका लागि काम गर्छौँ । त्यसैले हामी तनाव र द्वन्द्वमा पक्ष लिँदैनौँ,’ अध्यक्ष ओलीले भने । उनले वर्ल्ड पिस काउन्सिललाई विश्व शान्तिका लागि प्रभावकारी काम गर्न सफलता मिलोस् भनी शुभकामना समेत दिएका छन् ।
सो अवसरमा अध्यक्ष ओलीले नेपालको वर्तमान राजनीति र नेकपा एमालेको राजनीतिक, सांगठानिक अवस्था र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पार्टीले आफ्नो गन्तव्य बनाएको बताए । नेपालमा करिब दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकार गठन गरिएको र विकासका कामले गति लिएको, जनता उत्साहित भइरहेको अवस्थामा पार्टी विभाजन भएको जानकारी गराउँदै उनले पार्टी फुटाउनेहरूले अरूका लागि काम गरिरहेको बताए ।

वर्तमान सरकार फरक–फरक दृष्टिकोण रहेका दलहरूको अस्वस्थ गठबन्धन भएको समेत बताउँदै उनले गत निर्वाचनमा लोकप्रिय मतमा नेकपा एमाले सबैभन्दा ठूलो दल भएको र अन्य कुनै दलसँग कुनै हिसाबमा तुलना हुन नसक्ने जानकारी गराए । आगामी निर्वाचनमा बहुमत ल्याउने गरी एमालेले काम गरिरहेको उनका भनाइ छ ।
अन्तरक्रियामा सहभागीले राखेका जिज्ञासामा अध्यक्ष ओलीले नेपालमा महिला अधिकारका क्षेत्रमा महत्वपूर्ण काम भएको बताए । उनले संसद, स्थानीय तह र पार्टी संगठनमा महिला सहभागिताका बारेमा जानकारी गराएका छन् । यस्तै, अध्यक्ष ओलीले सबै नागरिकले समान अधिकार, सामाजिक न्याय र भयरहित वातावरणमा बाँच्न पाउनुपर्ने मान्यता स्थापित गर्ने दिशामा काम गरिरहेको बताए ।















प्रतिक्रिया