
काठमाडौं, ९ साउन । नेकपा एमालेनिकट विद्यार्थीहरूको छाता संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आन्दोलनका नाममा कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी नगर्ने नीति अपनाएको छ ।
शिक्षा क्षेत्रमा देखिदै आएका अनेक खालका विकृतिहरू हटाउँदै जाने उद्देश्य अनुसार अनेरास्ववियुले तालाबन्दीको नीतिलाई परिमार्जन गरी धर्ना, रिले अनशन र सत्याग्रहलगायत रचनात्मक गतिविधि गर्ने घोषणा गरेको हो ।
यसैबीच संगठनले आज एक सर्कुलर जारी गर्दै आन्दोलनका नाममा कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी नगर्न र गरिएको ठाउँमा पनि तत्काल खोलेर पठनपाठनमा सहज वातावरण निर्माण गर्न मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ ।
‘शैक्षिक आन्दोलनको नाममा हुने तालाबन्दीको कारण विद्यालय, क्याम्पस र विश्वविद्यालयहरूमा पठन पाठन प्रभावित भई रहेको वर्तमान अवस्थामा तालबन्दीरहित शिक्षालय र शैक्षिक सुधार अभियानअन्तर्गत अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने घोषणा गरेकोमा मातहतका कमिटीहरुलाई कुनै पनि शैक्षिक संस्थामा तालावन्दी नगर्न र गरिएको भए तत्काल ताला खोलेर आन्दोलनलाई धर्ना, रिले अन्सन र सत्याग्रहलगायत अन्य रचनात्मक माध्यमबाट सरोकारवाला विद्यार्थीहरुको सहभागितामा अगाडि बढाउन निर्देशन गरिएको छ,’ विशेष सर्कुलरमा उल्लेख छ ।
संगठनका अध्यक्ष समिक बडालले हस्ताक्षर गरेको सर्कुलरमा भनिएको छ, ‘विद्यार्थीहरुको हकहित र अधिकारको लागि सदैव लड्दै आइरहेको संगठन हुनको नाताले शिक्षा क्षेत्रमा देखिएका बेथिति अन्त्यका लागि सधैं अग्रमोर्चामा रहने प्रतिबद्धता समेत व्यक्त गर्दछौँ ।’
















प्रतिक्रिया