
काठमाडौं, ९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्यान्न असुरक्षा विरुद्धको लडाइ दृढतापूर्वक लड्नुपर्ने बताएका छन् ।
आज मंगलबार इटलीको रोमका खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजित छलफललाई सम्बोधन गर्दै उनले जलवायु सङ्कट र द्वन्द्वले खाद्य समस्यालाई अझ बढाएको भन्दै भोक र खाद्यान्न असुरक्षा विरुद्धको लडाइँ दृढतापूर्वक लड्नुपर्ने बताएका हुन् ।
दीगो भविष्यका लागि मार्ग प्रदान गर्न आधुनिक खाद्य प्रणालीहरू कमजोर रहेकाले खाद्य प्रणालीको रुपान्तरणको चुनौतीहरूलाई सम्बोधन गर्न सक्षम हुनुपर्नेमा उनले जोड दिएका छन् । प्रधानमन्त्री प्रचण्डले सुरक्षित, स्वस्थ र पौष्टिक आहारका लागि दीगो खाद्य श्रृंखला विकास गर्न नेपाल प्रतिबद्ध रहेको बताए ।

यस्तै, कृषि उत्पादकत्व सुधार गर्न, स्थानीय खेतीलाई समर्थन गर्न र फोहोर कम गर्नका लागि राम्रो भण्डारण प्रणालीमा लगानी गर्न पनि केन्द्रित रहेको उनले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले स्थानीय स्वदेशी खाद्य प्रणालीलाई पुनरुत्थान गर्नु समेत प्राथमिकतामा रहेको जानकारी दिए ।
त्यस्तै, उनले पर्याप्त भण्डारणको अभाव, यान्त्रिकीकरणको न्यून स्तर, उच्च उत्पादन लागत, कमजोर बजार सम्बन्ध र असमान वितरण प्रणाली जस्ता थप चुनौतीहरूको पनि सामना गरिरहेकाले खाद्य प्रणालीलाई रुपान्तरण गर्न गर्ने सामूहिक प्रयासमा एकवद्धता जनाउन आग्रह पनि गरेका छन् ।















प्रतिक्रिया