
पाल्पा, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज पाल्पामा पनि मनाइएको छ ।
यसै सन्दर्भमा नेकपा एमाले तानसेन नगर कमिटीले ‘पुष्पलाल र आजको राजनीति’ विषयक छलफल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा जिल्लास्थित सबै दलका प्रतिनिधिहरूको उपस्थिति थियो ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले पुष्पलालले अगाडि सारेका विचार र सिद्धान्त अनुसारनै एमाले पाटी अगाडि बढिरहेको बताए । कम्युनिष्टका नेताले असल नियतका साथ जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ छ ।
‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय लक्ष्य पूरा गर्न सके सच्चारूपमा पुष्पलालको सम्मान हुने बताउँदै उनले राष्ट्रियता, लोकतन्त्र, संविधान र मुलुकको सार्वभौम रक्षाका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिए । अहिले नेपालका पुराना सबै राजनीतिक दल र नेताहरूलाई कमजोर बनाएर बाह्य शक्तिले नेपाललाई आफ्नो कब्जामा लिन खोजिरहेको चर्चा गर्दै उनले मुख्य राजनीतिक दलनै कमजोर भए वैदेशिक हस्तक्षेप बढ्ने हुँदा सच्चिएर जनताको हितमा काम गर्न आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले नेताहरूले व्यक्तिगत स्वार्थ नभई जनता र राष्ट्रको स्वार्थमा काम गर्नुपर्ने बताए । क्षणिक स्वार्थका लागि पुष्पलाल, बीपीजस्ता नेताका सिद्धान्त र विचारलाई आफ्नो अनुकूल व्याख्या गर्ने प्रवृत्ति अहिलेका नेतामा बढिरहेको चर्चा गर्दै उनले पुष्पलालजस्तै सम्मानित हुनेगरी काम गर्नुपर्नेमा जोड दिए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरेले नेताहरू सच्चिन पर्ने बेला आएको बताए । आपसी खिचतानीले कम्युनिष्टको बदनाम भइरहेको बताउँदै सबै बामपन्थी दलहरूबीच गम्भीर छलफल गरी एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिए ।
नेकपा माओवादी केन्द्र पाल्पाका सचिव मथुरा ढकालले पुष्पलालले अंगीकार गरेको सिद्धान्त र विचारबारे सबै स्पष्ट हुनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका सचिव सुमन गैरेले पुष्पलालजस्ता आर्दशवान नेताले देखाएको बाटोमा हिंड्न सके मुलुकको समृद्धि सम्भव रहेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरले आदर्श र विचारवान नेताको अभाव रहेको बताए । देश अहिले गम्भीर सङ्कटमा रहेको बताउँदै उनले नयाँ सोंचका साथ राजनीतिक दलहरूले काम गर्नुपर्नेमा जोड दिए ।
यस्तै, राष्ट्रिय जनमोर्चा पाल्पाका सह–सचिव नरमती सिङ्जालीले पुष्पलालको विचार र सिद्धान्तलाई पूरा गर्न अहिलेका नेता परिवर्तन हुनुपर्ने अवस्था रहेको बताइन् । नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे पुष्पलालको जीवनी र योगदानबारे चर्चा गरेका थिए ।
नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले आदर्शवान नेताको विचार र सिद्धान्तबारे बेलाबखत सबै दलबीच गन्थनमन्थन हुनसके मुलुकलाई सही दिशामा लैजान सकिने बताए ।















प्रतिक्रिया