
मकवानपुर, ७ साउन । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र र सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादी मकवानपुरका जिल्लास्तरीय नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले, मकवानपुरले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसको अवसरमा आज आयोजित प्रवचन कार्यक्रममार्फत उनीहरू माओवादी र समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला सदस्यहरू दिलबहादुर दोर्जे पाख्रिन र गंगा भट्टराई एमाले प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देलले जानकारी दिए ।
उनका अनुसार, नेकपा एकीकृत समाजवादी परित्याग गरी एमाले प्रवेश गर्ने जिल्लास्तरका नेताहरूमा जिल्ला सचिवालय सदस्य नारायण तिमल्सिना, राजप्रकाश भण्डारी, भरत लामिछाने, राजेश्वर दाहाल, जानुका सञ्जेल, विष्णुमाया सापकोटा, गोविन्द देवकोटा छन् तथा बकैया गाउँपालिका कमिटीका सदस्य कृष्णबहादुर भोलनलगायत छन् ।
कार्यक्रममा दिल दोर्जे पाख्रिनले हिजो नौलो जनवाद, समाजवाद भन्दै कुर्सीलाई प्राथमिकता दिएको र माओवादी पार्टीमा विचलन भएकाले व्यक्तिवादी हाबी भएको, जनता र मुलुकको भविष्य नरहेको बताए ।
यस्तै, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य नारायण तिमल्सिनाले पार्टी विभाजन हुनु नेतृत्वको गल्ती भएको र मुहान सफा हुनुपर्ने बताए । माओवादी केन्द्रबाट पार्टी प्रवेश गर्ने गंगा भट्टराईले गणतन्त्र आइसकेपछि माओवादी केन्द्र मुलुकलाई अगाडि बढाउन सक्छ भन्ने विश्वास हटेको बताउँदै एमालेप्रति विश्वास भएकाले आफूहरू एमालेमा समाहित भएको बताए ।















प्रतिक्रिया