– गणेश गिरी
पर्वत, १६ जेठ । पर्वतको ऐतिहासिक दुर्लुङकोटमा एक करोडको लागतमा भ्यू टावर निर्माण कार्य सुरु भएको छ । मल्लकालिन राज्य देखिको सभ्यता बोकेको दुर्लुङकोटको पर्यटकीय सम्भावनाको विकास गर्ने उद्दे्रश्यका साथ उक्त स्थानमा टावरको निर्माण हुन लागेको हो ।
पर्वतको कुश्मा नगरपालिका वडा न ६ दुर्लुङमा उक्त भ्यू प्वाईटको रुपमा टावर निर्माण हुन लागेको हो । पश्चिमाञ्चलका बागलुङ, कास्की, म्याग्दी, गुल्मी, स्याङजा र पर्वतका विभिन्न भागको अवलोकन गर्न मिल्ने उक्त स्थानमा टावरको निर्माण भएपछि पर्यटकीय गन्तब्य बन्ने दुर्लुङकोट ब्यवस्थापन समितिका अ्रध्यक्ष सुकबहादुर गुरुङले दाबी गरे ।
५५ फिटको उक्त भ्यू टावर निर्माणका लागि यस अघि लगाइएको महायज्ञमा संकलन भएको रकमका अवला अन्य संघ संस्थाहरुको पनि सहयोग संकलन गर्ने कार्य भइरहेको बताउदै गुरुङले टावरका कारण पर्वतको गरिमा थप बृद्धि हुने विश्वास पनि ब्यक्त गरे ।
भ्यू प्वाईटका रुपमा निर्माण गर्न लागिएको टावर १८ फिट चौडाई र २० फिट लामो हुनेछ । सदरमुकाम कुश्मा बजारदेखि यातायातको सहज सुविधा भएका कारण उक्त क्षेत्रमा आउने पर्यटकहरु बर्षेनी बढ्दै गइरहेका कारण भ्यू प्वाईटको महत्व अझ बढी हुने गुरुङको विश्वास छ ।
जिल्लाकै ऐतिहासिक स्थल दुर्लुङकोटमा मल्लकालिन राजाहरुको दरबार रहेको थियो । दरबार परिसरमा हतियार राख्ने र धार्मिक विधि अनुसार पुजाआजा गर्ने राजाहरुको परम्परालाई यहाँका स्थानीयहरुले अझै पनि निरन्तरता दिदै आइरहेका छन् ।
उक्त कोटमा बडादशै, चैत्रे दशै र जेष्ठ अष्टमीका दिनमा भब्य पूजाआजा हुने गर्दछ । उक्त क्षेत्रको ब्यवस्थापनका लागि ब्यवस्थापन समितिले काम गरीरहेका छ । सरकारी निकायबाट भने अपेक्षाकृत सहयोग नपाएको गुनासो गर्दै ब्यवस्थापन समितिकी सदस्य मानकुमारी गिरीले दुर्लुङकोटलाई धार्मिक पर्यटकीय स्थलको विकास गरेमा बर्षेनी हजारौं धार्मिक पर्यटकहरु पनि भित्र्याउन सकिने दाबी गरिन् ।
पर्यटकीय क्षेत्रको विकास गर्ने राज्यको पनि दायित्व भएको बताउँदै उनले स्थानीय बासीहरुको प्रयासमा निर्माण हुने टावरले यस क्षेत्रको निकै ठूलो महत्व राख्ने बताईन् ।
















प्रतिक्रिया