
काठमाडौं, ४ साउन । ‘नबिल सामाजिक उद्यमशिलता’ नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दीगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ ।
कार्यक्रममा कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधिलगायत जुनसुकै क्षेत्रमा नवीनतम सोच भएका १८ वर्षदेखि माथिका नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन् । नबिल एसएसईको फेसबुक पेजमा रहेकोे लिङ्कमा गई गुगल फारमबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।
अथवा नबिल बैंकको वेबसाइटमा गई नबिल एसएसईको पेजबाट पनि फारम भर्न सकिने छ । आवेदनको अन्तिम दिन बैंकले भदौ ३ गते तोकेको छ ।
सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिनासम्म चल्ने जानकारी बैंकले दिएको छ । साथै, हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ । तालिम अवधि भर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरूलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यावहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्ने बैंकद्वारा विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि सुरू गरिएको यस फेलोशीप कार्यक्रमबाट ३६ जनाले उद्यमशीलताको तालिम प्राप्त गरिसकेका छन् । विभिन्न पृष्ठभूमिबाट आएका सहभागीहरूले सामाजिक उद्यम संचालनका निम्ति आवश्यक कानुनी तथा कर सम्बन्धीका ज्ञान, व्यवासायको ब्राण्डिङ्ग, बजारीकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए ।
विभिन्न अन्तरक्रिया कार्यक्रम तथा प्रक्रियाहरूद्वारा सहभागीहरूलाई प्राविधिक तथा व्यावहारिक ज्ञान उपलब्ध गराइएको थियो ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो जसको कुल निक्षेप रू. ३७८ अर्ब तथा कुल कर्जा रू. ३४० अर्ब रहेको छ । नबिलले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
त्यस्तै गरी देशभरिको शाखा विस्तार भई २६५ शाखा र २९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको जनाएको छ ।















प्रतिक्रिया