२९ आश्विन २०८३, बिहिबार

नेपाली सेनाबारेको बहसमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ध्यानाकर्षण

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । नेकपा एमालेको जनसंगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले नेपाली सेनाबारे हलुका बहस नगर्न आग्रह गरेको छ ।

संगठनका अध्यक्ष विनोद पाण्डेले आज सोमबार विज्ञप्ति जारी गरी मुलुकको रक्षा गर्दै विभिन्न राष्ट्रिय समस्याको समाधान गर्न अग्रपङ्क्तिमा खटिँदै आएको तथा अन्तर्राष्ट्रिय शान्तिसुरक्षा कायम गर्न समेत लागि परेको गरिमामय संस्था नेपाली सेनाबारे हलुका ढंगबाट बहस नगर्न आग्रह गरेका हुन् ।

‘हालै नेपाली सेनाबारे संसदमा र बाहिर सार्वजनिक खपतका लागि गरिएका टिकाटिप्पणीबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो यो संगठन नेकपा (एमाले) को जनसंगठन समेत रहेकाले हाम्रो पार्टीको नेपाली सेना र अन्य सुरक्षा निकायहरूको पुन:संरचना गर्नेलगायतको कार्यका साथै संख्या घटाउने कुनै आधिकारिक धारणा नरहेको व्यहोरा आम सरोकारवालाहरूलाई भ्रममा नपर्न अनुरोध गर्न चाहन्छ ।’

नेपाली जनताका प्रतिनिधिहरूद्वारा निर्मित संविधानले नेपाली सेना यसको भर्ना प्रक्रिया र काम कर्तव्यबारे भाग २८ धारा २६७ मा स्पष्ट पारेको उल्लेख गर्दै संगठनले करिब साँढे दुई शताब्दीदेखि नेपालको सार्वभौम सत्ताको रक्षा, स्वतन्त्रता र मुलुकको अखण्डता, स्वाधीनता र नेपाली बीचको राष्ट्रिय एकता कायम गर्न नेपाली सेनाको गौरवशाली इतिहास महत्वपूर्ण रहिआएको बताएको छ ।

‘देशको सिमानाको रक्षा गर्न, आन्तरिक शान्ति सुरक्षा कायम गर्न, प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न, महत्वपूर्ण संरचनाको सुरक्षा, राष्ट्रिय निकुञ्जहरूको संरक्षण गर्न, अन्तर्राष्ट्रिय शान्ति कायम गर्न र राज्यले प्रदान गरेका अन्य दायित्व सम्पादन गर्न नेपाली सेना उच्च मनोबलका साथ अग्रपंक्तिमा खटिएको छ । यो गरिमामय संस्थाका बारेमा बोल्दा या नीति नियम निर्माण गर्दा हलुंगो ढंगले नगरिदिनुहुन आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

आफ्नो संगठन अवकाश प्राप्तहरूको संगठित संस्था भएकाले मातृभूमिको र नेपाली जनताको सेवा गर्न सधैं लागिपर्ने व्यहोरा अनुरोध गर्दै भूतपूर्व सैनिक तथा प्रहरीहरूलाई यो देशप्रेमी संगठनमा आबद्ध हुन अध्यक्ष पाण्डेले आह्वान समेत गरेका छन् ।