२९ आश्विन २०८३, बिहिबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुचारु, पीडित पक्षसँग भयो यस्तो सहमति

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ३० असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले ठप्प पारेको सेवा आजदेखि पुन: सञ्चालन भएको छ ।

अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछि सेवा पुन: सञ्चालन गरिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा विकास लामिछानेका अनुसार घोराही–३ का वडाअध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाउने सहमति भएको छ । समितिले घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन ल्याउने छ ।

शैक्षिक योग्यताअनुसार मृतकका नजिकका आफन्त एकजनालाई रोजगारी दिने सहमति भएको लामिछानेले बताए । यस्तै, पीडित परिवारका लागि आर्थिक सहयोग जुटाइने भएको छ ।

सहमतिपछि बालकको शव आफन्तले बुझेका छन् । छारे रोगबाट पीडित ११ वर्षीय आक्रोश नेपालीको मृत्यु भएको थियो । उपचारमा लापरवाही गरेका कारण उनको ज्यान गएको मृतकका आफन्तजनले आरोप लगाएका थिए । उचित क्षतिपूर्तिको माग गर्दै उनीहरुले शुक्रबार दिनभर अस्पतालको सेवा अवरुद्ध पारेका थिए ।

मृत्यु भएका बालकको उपचारका क्रममा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्न कार्यकारी परिषद्लाई सिफारिस गर्ने सहमति भएको उपकुलपति डा लामिछानेले बताए ।