
काठमाडौं, ३० असार । लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने १४९ जना चालक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको चेकिङको क्रममा आर्थिक वर्ष २०७९/८० मा १४९ जना चालक पक्राउ परेका हुन् । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तहरूमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र सम्बन्धित प्रहरी कार्यालयहरूको संयुक्त टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चालकलाई चेक गर्दै आएको छ । चालकहरूले लागुऔषध सेवन गरी सवारी साधन चलाए/नचलाएको सम्बन्धमा टीएचसी किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।
हिजो शुक्रबार भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी मधेश प्रदेश–०३–००१ ज ०३ ०३ नम्बरको भाडाको विङगर चलाएका सर्लाहीको लालबन्दीका ३२ वर्षीय राजिव कार्कीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आएका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातीमा राखिएको छ ।
लापसे गरी सवारी साधन चलाउने चालक मध्ये भाडाका सवारी साधन चलाउने चालक पनि रहेकाले यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको प्रवक्ता भट्टले बताए ।
यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नु उनले अनुरोध गरेका छन् ।















प्रतिक्रिया