
काठमाडौं, २९ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अध्यागमन कार्यालयका कर्मचारीहरूले अनावश्यक रूपमा हस्तक्षेप गर्दा नेपाली श्रमिकहरूले दु:ख पाइरहेको बताएको छ ।
संघले आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिनाकारण अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फर्काउने गरेकामा आपत्ति जनाउँदै सम्बन्धित कार्यालयहरूका कर्मचारीको दादागिरीका कारण श्रमिकहरूले दु:ख पाइरहेको बताएको हो ।
वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजात पेस गर्दा पनि अध्यागमन कार्यालयले बिनाकारण श्रमिकहरूलाई बिमानस्थलबाटै फर्काउने काम गरेको भन्दै संघले दु:ख व्यक्त गरेको छ । कर्मचारीहरूको यो हर्कतबाट श्रमिक र व्यवसायीमा मानसिक तनाव सृजना हुनाका साथै आर्थिक क्षति समेत भइरहेको संघको भनाइ छ ।
अध्यागमनका कर्मचारीले बिगत केही दिनदेखि कानुनविपरीतको गलत सूचना दिने, अनावश्यक दु:ख दिई वैदेशिक रोजगारीबाट वञ्चित गराउने उद्देश्यबाट प्रेरित भई हस्तक्षेपयुक्त कार्य गर्दै अएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । यसबारे पटक–पटक ध्यानाकर्षण गराउँदा पनि असार २४ गते जोर्डन जान लागेका १५ जना र असार २७ गते कुबेत जान लागेका ११७ जना कामदारलाई विमानस्थलबाट अनावश्यक दोषारोपणसहित जान नदिई फर्काइएको कार्यप्रति उनले आपत्ति प्रकट गरे ।
उनले वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई रोजगारीमा जाने गरेको र यसको जानकारी हुँदाहुँदै पनि कामदारलाई रोक्ने काम गरिएको बताए ।
विभागका श्रम स्वीकृति लिएको सम्पूर्ण जानकारी अनलाइन प्रणालीमार्फत समेत अध्यागमनमा जाने भए पनि त्यसलाई कर्मचारीले बेवास्ता गरेको उनको भनाइ छ ।
यस विषयमा संघले श्रममन्त्रीलगायत सबै सरोकारवालाहरूलाई जानकारी गराइसकेको भन्दै कामदार रोक्ने कार्यलाई निरन्तरता दिए कडा आन्दोलन गर्ने चेतावनी संघले दिएको छ ।















प्रतिक्रिया