
काठमाडौं, २९ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले खर्च भएको देखाउनका लागि फाइभस्टार होटेलमा आयोजना गरिने कार्यक्रममा आफू सहभागी नहुने बताएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक सहायताबाट सञ्चालित कार्यक्रमको समीक्षा गर्न चन्द्रागिरीमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले कार्य सम्पादन प्रभावकारी भएर गरिने समीक्षात्मक छलफल तथा अन्तक्र्रियामा मात्रै आफू उपस्थित हुने बताएका हुन् ।
‘सम्झौताबमोजिम कार्य सम्पन्न भएर आयोजना गरिने समीक्षात्मक छलफल तथा अन्तक्र्रियामा म आउँछु तर वैदेशिक सहायताको पैसा खर्च गर्नकै लागि आयोजना गरिने बैठक अन्तक्र्रियामा म आउँदिन,’ उनले भने ।
खर्च भएको देखाउनकै लागि कर्मचारीहरू असार मसान्तमा दिनहुँ फाइभस्टारका कार्यक्रममा मात्रै व्यस्त हुन थालेको मन्त्री मोदीको भनाइ छ । ‘असार मसान्तको समय छ, कर्मचारीहरू अहिले जनताको सेवामा भन्दा पनि फाइभस्टारका कार्यक्रममा व्यस्त छन् । कर्मचारीको यो दिनचर्याबाट सुशासन सम्भव छैन,’ उनले भने ।
वैदेशिक सहायताको वास्तविक मर्मअनुसारको काम हुन नसकेको बताउँदै उनले भने, ‘वैदेशिक सहायताको मर्म जे हो, त्यो अनुसारको कुनै पनि काम हुन सकेको छैन, खर्च भएको देखाउन महँगो होटेल ताक्ने बेथिति बढेको छ, यसको रोकथाम आवश्यक छ ।’
उनले मन्त्रालय मातहतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले लक्ष्यअनुरुपको बजेट खर्च गर्न नसकेकोमा पनि असन्तुष्टि जनाएका छन् । ‘हाम्रै मन्त्रालय मातहतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी)ले पनि लक्ष्य अनुरुपको बजेट खर्च गर्न सकेन, यसबारे गम्भीर समीक्षा जरुर आवश्यकता छ,’ उनले भने ।
मन्त्री मोदीले वैदशिक सहायतालाई लक्षित वर्गसम्म पुर्याउन जरुरी भएको समेत बताएका छन् । लक्षित वर्गसम्म वैदेशिक सहायताको रकम पुग्न नसक्ने कार्यक्रमको लक्ष्य पनि पूरा हुन नसकेको उनको भनाइ थियो ।
वैदेशिक सहायतासँग सम्बन्धित प्रतिनिधिहरूलाई कर्मचारीहरूले अनेकन् बहानामा दुख दिने गरेको गुनासो पनि आफूले सुनेको बताउँदै मन्त्री मोदीले भने, ‘आफू अनुकुलताको कुरा राखेर, लोभ र लालच देखाएर यो वा त्यो बहानामा कर्मचारीहरूले वैदेशिक सहायताका प्रतिनिधिहरूलाई घुमाइराखेको गुनासो पनि सुनेको छु, अब कर्मचारीबाट यो वा त्यो बहानामा असहयोग भए मलाई सिधा सम्पर्क गर्नुहोला ।’















प्रतिक्रिया