काठमाडौं, १६ जेठ । वर्तमान पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा तत्कालीन नायब सुब्बा कृपासुर शेर्पासँग प्रेममा परेर छोरासमेत जन्माएको बताउने धनमाया दर्नाल अहिले अर्धचेत अवस्थामा छिन् ।
छोरा स्वीकार गर्न भन्दै उनले कृपासुरसँग ३५ वर्षसम्म रोइकराइ गरिन्, तर मानसिक पीडा र शारीरिक रोगले थलिएकी उनी अहिले न रुन सक्छिन् न हाँस्न ।
दुवै हातका औँला नभएकाले खान कठिन छ, उठ्न नसक्ने भएकाले दिसा–पिसाब पनि ओछ्यानमै बसेर गर्नुपर्छ ।
भोजपुरका कृपासुर नायब सुब्बाका रूपमा ताप्लेजुङ सदरमुकाम फुङलिङ गएका वेला स्थानीय दलित महिला धनमायासँग प्रेममा परेका थिए ।
उनीहरूको सम्बन्धबाट ०३७ मंसिर १ मा जन्मेको दाबी गर्ने गणेश अहिले बाबुसँग कानुनी लडाइँ लड्न काठमाडौंमा डेरा गरी बसेका छन् ।
त्यही डेरामा बस्छिन् धनमाया जसको सिरानीमा कृपासुरको फोटो रहेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
बिरामी धनमाया राम्ररी बोल्न पनि सक्दिनन् । सासैसासमा उनले भनिन्, ‘म कृपासुरकी स्वास्नी हुँ । गणेश हाम्रो छोरा हो । म मर्ने वेला भएको छ ।
छोराको नागरिकता आउला भनेर अदालत पनि गएँ । मसँगै छोराले पनि दुस्ख पायो, छोराको अनुहारमा हाँसो देखेर मर्ने मन छ ।’
छोरा जन्मिएपछि कृपासुर ताप्लेजुङबाट हिँडे, सामाजिक अपहेलना र आर्थिक अभाव सहेर दलित महिलाले ‘विनाबाबुको’ छोरा गणेशलाई हुर्काइन् ।
गणेशले कृपासुरसँग बाबुछोराको नाता स्थापित गर्न डिएनए टेस्ट गर्ने प्रस्ताव राख्दै आएका छन् ।
धनमायालाई त्यो प्राविधिक जानकारी छैन, उनी भन्छिन्, ‘जे गर्नु छ चाँडै गर्नुपर्यो, म मरेँ भने छोरा–नातिले झन् दुस्ख पाउँछन् ।’
गणेशकी पत्नी सुजाता भित्रिकोटी (शेर्पा)का अनुसार धनमायालाई कलेजोसम्बन्धी रोग र डाइबिटिज छ ।
ताप्लेजुङमै रहँदा घरमै एकपटक लडेकी थिइन्, त्यही कारण उब्जिएको नसासम्बन्धी समस्याले पनि वेलावेला दुःख दिन्छ ।
ताप्लेजुङमै रहँदा १७–१८ वर्षपहिले ढिकीले दुवै हात किचेको रहेछ । पहिला गाउँमै गोबर लगाउनेलगायतका घरेलु उपचार गरिएको रहेछ ।
डेढ महिनापछि डाक्टरकहाँ जादा टिटानस अन्तिम अवस्थामा पुगेको देखिएछ । त्यसैले दुवै हातका सबै औँला काट्नुपरेको रहेछ ।















प्रतिक्रिया