
काठमाडौं, २९ असार । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किनको रोकथामका लागि गरेका कार्यहरुका बारेमा जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।
आज शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले लम्पी स्किन रोग रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले यस बिषयमा सदनमा जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।
लम्पी स्किनको बारेमा सदनमा पटक पटक आवाज उठेको अवस्थामा यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले रोग रोकथामका लागि गरेका कामकारबाहीका बारेमा जानकारी गराउन सम्बन्धित मन्त्रीहरुलाई उनले निर्देश दिएका छन् ।
त्यसअघि बैठकमा सांसदहरुले लम्पी स्किनले महामारीको रुप लिएर धेरै क्षति हुदा पनि सरकार गम्भीर नभएको बताएका थिए ।
बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले लम्पी स्किन रोगका कारण किसानहरु पीडाको आहालमा डुबेर बस्न बाध्य भए पनि सरकार जिम्मेवारबिहीन भएको बताएका थिए । उनले रकम अभाव नभएर उपचार गर्न नसकेको हो भने निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट रकमान्तर गरेर भए पनि किसानलाई राहत, औषधि र खोप उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
त्यस्तै, सांसद रामहरि खतिवडा, रोशन कार्कीलगायतले पनि किसानको समस्यमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए ।















प्रतिक्रिया