२९ आश्विन २०८३, बिहिबार

मन्त्री र सांसदहरूले विधेयकको उद्देश्यविपरीत धारणा राख्नु लज्जाको विषय : सुवास नेम्वाङ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले राष्ट्रिय सभा बैठकमा पेश गरिएको विधेयकमाथि मन्त्री र सांसदहरूले नै उद्देश्यविपरीत धारणा व्यक्त गर्नु लज्जाको विषय भएको बताएका छन् ।

उनले राष्ट्रिय सभामा विद्युतीय व्यापार विधेयकको सैद्धान्तिक छलफलमा उद्योगमन्त्री रमेश रिजाल र सांसदहरूले उल्टो धारणा राखेको विषय लज्जास्पद भएको बताएका हुन् ।

आज शुक्रबार सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस विषयमा सम्बन्धित मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने धारणा उपाध्यक्ष नेम्वाङको छ । हिजो बिहीबार राष्ट्रिय सभामा विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा सदस्यहरुले बिजुली व्यापारको विषयमा बहस गरेका थिए ।

‘यो हामी सबैका लागि लज्जास्पद कुरा हो’, नेम्वाङले भने, ‘सरकार साह्रै लज्जास्पद भएकाले सम्बन्धित मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ ।’ नेम्वाङले विषयवस्तुबाहिर गएर बोलेको अवस्थामा बैठकको अध्यक्षता गर्ने व्यक्तिले रोक्ने व्यवस्था नियमावलीमा रहेको समेत उल्लेख गरेका छन् ।

ई–कमर्ससम्बन्धी विद्युतीय व्यापार विधेयक २०८० माथिको छलफलका क्रममा बिहीबार नेकपा एमालेका सांसदहरु विमला घिमिरे, भगवती न्यौपाने, तुलसाकुमारी दाहाल तथा कांग्रेस सांसद जितेन्द्रनारायण देवले बिजुली व्यापारको कुरा गरेका थिए ।

सांसदहरुले सैद्धान्तिक छलफलमा धारणा राखिसकेपछि जवाफ दिन आएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले समेत बिजुली व्यापारकै कुरा गरेका थिए ।

नेम्बाङले सरकारका सम्बद्ध मन्त्रीलाई आफूले पेश गरेकै विधेयकको विषय नै थाहा नहुनु लज्जास्पद भएको भन्दै मन्त्री रिजालले नैतिक जिम्मेवारी लिनु पर्ने तर्क गरेका हुन् ।