
काठमाडौं, २८ असार । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि दक्षिण कोरियासँग आग्रह गरेको छ ।
नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक एवम् व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरेका हुन् ।
‘दुई मुलकबीचको कुटनीतिक सम्बन्ध ५० वर्ष पुग्न लागेको छ । लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ,’ मल्लले भने । उनले नेपालको जलविद्युत्, पूर्वाधार क्षेत्र, पर्यटन एवम् प्रविधिको क्षेत्रत्रमा लगानीको वातावरण बनाउन नवनियुक्त राजदूत पार्कसँग आग्रह गरे । भारत, बंगलादेश जस्ता देशमा नेपालको विद्युत्को उच्च माग रहेको भन्दै उनले लगानी प्रतिफलको सुनिश्चितता समेत गरे ।
दुई मुलुकबीच हवाई सञ्जाल विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले राजदूत पार्कको ध्यानाकर्षण गराए । उनले भने, ‘हवाई सञ्जाल विस्तार गरेर दुवै देशमा पर्यटकीय गतिविधि बढाउन सकिन्छ, कोरियामा रहेका नेपाली कामदारलाई पनि थप लाभ हुन्छ । ’
अध्यक्ष मल्लले घरेलु, हस्तकला लगायत साना र मध्यमखाले उद्योगमा लगानी गर्न समेत राजदूत पार्कलाई आग्रह गरेका छन् । सेवा क्षेत्र, पर्यटन, कृषिलगायत नेपालका विभिन्न आयोजनामा दक्षिण कोरियाले हाल १२ अर्व ८१ करोड रुपैयाँ लगानी गरेको छ । जसबाट १२ हजार भन्दा बढीले रोजगारी पाएका छन । यस्तै कोरियाबाट यो वर्ष ११ हजार पर्यटक भित्रिएका छन् ।
चेम्बरको स्वागत पछि नवनियुक्त राजदूत पार्कले आफ्नो कार्यकालमा नेपालसँगको कुटनीतिक र आर्थिक सम्बन्धलाई थप बलियो बनाउने प्रतिवद्धता जनाए । उनले भने, ‘नेपाल र कोरियाको सम्वन्ध आगामी बर्ष ५० औं बर्षमा पुग्दैछ ।’ नागरिक नागरिकबीचको सम्बन्धलाई अझ दीगो बनाउन आफूले भूमिका निर्वाह गर्ने पार्कले बताएका छन् ।















प्रतिक्रिया