
काठमाडौं, २८ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा लैजाने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएकी छिन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको छलफलका क्रममा सदस्यहरूले राखेको प्रश्नको जवाफ दिदै मन्त्री शर्माले साइबर सुरक्षासँग सम्बन्धित विषयहरू एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा लैजाने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएकी हुन् ।
उनले विद्युतीय तथ्याङ्कहरूको सुरक्षा, भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्याङ्क सुरक्षा नीति तर्जुमा गरिने बताइन् ।
हाल चौबीसै घण्टा सञ्चालनमा रहेको सरकारी डाटा सेन्टरको स्तरोन्नति गरी हेटौँडामा डिजास्टर रिकभरी सेन्टर सञ्चालनमा ल्याउने, निजी क्षेत्रद्वारा सञ्चालित डाटा सेन्टरको स्तरीकरण र नियमन गरिने जानकारी पनि उनले दिएकी छिन् ।
हुलाक सेवाको निरन्तरताको सुनिश्चितता गर्दै कम कार्यभार भएका संरचनालाई एक आपसमा गाभी सेवा प्रवाहको प्रभावकारिता र वित्तीय मितव्ययिता कायम गर्न खोजिएको मन्त्री शर्माले जानकारी दिइन् ।
त्यस्तै, उनले आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशका दुई जिल्लालाई पूर्ण दुरसञ्चारयुक्त जिल्लाको रूपमा विकास गरिने पनि बताइन् ।
सुशासन, विकास र समृद्धिका लागि डिजिटल नेपालको दूरदृष्टिसहित २०७६ सालबाट सुरू भएको डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा लगिएको उनको भनाइ छ ।
उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका निकायहरूमा डिजिटल हस्ताक्षरलाई कार्यान्वयनमा ल्याइएको र अन्य मन्त्रालय तथा निकायहरूमा समेत विस्तार गरिँदै लगिने बताएकी छिन् ।















प्रतिक्रिया