२९ आश्विन २०८३, बिहिबार

साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । आगामी साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवन गर्न नपाइने भएको छ ।

पहिलो चरणमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रको नयाँ बानेश्वर क्षेत्रबाट निषेधको काम सुरू गर्ने भए पनि यसलाई क्रमिकरूपमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको बताइएको छ ।

उक्त अभियान काठमाडौं महानगरपालिका र बानेश्वर व्यापार सङ्घले संयुक्तरूपमा सञ्चालन गर्न लागेका हुन् । सङ्घका अध्यक्ष नवीन लुइँटेलका अनुसार अवैध संरचना हटाउने काम पनि बानेश्वरबाट नै सुरु गरेको हुनाले धुम्रपान र मद्यपान निषेधको काम पनि सोही स्थानबाट सुरु गर्ने तयारी गरिएको हो ।

आजदेखि आगामी साउन १ गतेसम्म प्रचारप्रसारका काम गर्ने, त्यसपछि कडाइका साथ उक्त अभियान लागू गर्ने अध्यक्ष लुइँटेलले जानकारी दिए ।

एक वर्षअघि पनि कामपाले सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा निषेध गरेको थियो तर त्यसको सकारात्मक प्रभावकारिता नभएको भन्दै कडाइका साथ कार्यान्वयन गर्ने गरी पुन: सुरु गर्न लागिएको बताइएको छ ।

सुर्तीजन्य पदार्थको सेवनका कारण मुखको क्यान्सर, फोक्सो, पेट, फियो आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुनाका साथै दम, दीर्घ श्वासप्रश्वास, उच्च रक्तचाप, हृदयाघात, मस्तिष्काघात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने जस्ता समस्या हुने गर्दछ ।

सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक ९२ लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि सुर्तीजन्य वस्तुको सेवनका कारण वार्षिक २७ हजारले अकालमा ज्यान गुमाउनुपरेको छ ।