२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्रीले गल्ती स्वीकार गरेपछि यस्तो छ योगेश भट्टराईको टिप्पणी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । प्रतिपक्षी दलहरूको मागबमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आफ्नो विवादित अभिव्यक्तिबारे संसदलाई जवाफ दिएका छन् ।

गत साता एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति गल्ती महसुस गर्दै उनले त्यो आफ्नो भावनात्मक अभिव्यक्ति भएको स्पष्टीकरण दिएका छन् । आफू प्रधानमन्त्री नभइ आफ्नी छोरी ज्ञानु दाहालको बुबा भएर सो अभिव्यक्ति दिएको पनि उनले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीको स्पष्टीकरणपछि नेकपा एमालेका सचिव एवम् प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले प्रधानमन्त्रीले व्यहोरेको पारिवारिक पीडा सम्वेदनशील रहेको बताएका छन् । तर, प्रधानमन्त्रीका रुपमा उनले भावनात्मक पक्षलाई अघि सारेर देश र जनतालाई घात गर्ने छुट नरहेको पनि बताएका छन् ।

‘छोरी ज्ञानु, छोरा प्रकाश र श्रीमती सीताका बारेमा पुष्पकमल दाहालले बेहोरेको पिडा सम्वेदनशील छन् । उहाँका ती पीडामा साहस भर्न सिङ्गो सदन उहाँलाई साथ दिन तयार छ,’ सचिव भट्टराईले भने, ‘तर, प्रधानमन्त्रीका रुपमा उहाँलाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट चाहिँ छैन । हेक्का रहोस् ।’

प्रधानमन्त्रीको पारिवारिक पीडा मजाक नभएको भन्दै उनले अगाडि भनेका छन्, ‘हामीले उहाँको पारिवारिक पीडामा मजाक गरेका होइनौँ । हामी अरु केही जस्तो निर्दयी होइनौँ र छैनौँ । तर, देशको प्रधानमन्त्रीको अभिव्यक्ति र व्यवहारप्रति भने कठोर प्रश्न छन् ।’