
काठमाडौं, २५ असार । प्रहरीले वैदेशिक रोजगारमा गएका कामदारकालाई प्रयोग गर्दै गैरकानुनी रुपमा कतारबाट सुन ल्याउने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले सोमबार पत्रकार सम्मेलन गर्दै केही रकम र होटल खर्च दिएर वैदेशिक रोजगार फर्कने कामदारलाई प्रयोग गरेर कतारबाट सुन ल्याउने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सप्तरीका विनोदकुमार साह र उनकी श्रीमती सञ्जुकुमारी साह, धनुषाका सुनिलकमार महरा, सिराहाका दिनेशकुमार यादव, कपिलवस्तुका सन्तुगुलाम मुराउ, धनुषाका नेशर पञ्जियार, बाँकेका भुमबहादुर ओली छन् ।
त्यस्तै, प्रहरीले दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव र निमाई साहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये विनोदकुमार साह र उनकी श्रीमतीले सिनामंगलमा होटेल सञ्चालन गरेको र सुन सङ्कलन गर्ने काम गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए । सुन किन्ने, पैसा कतारमा व्यवस्थापन गर्ने काम शिवसुन्दर राउत गर्दै आएको उनले बताए ।
वैदेशिक रोजगारबाट स्वदेश फर्कदा कामदारलाई प्रयोग गरेर ५० ग्रामका दरले सुन ल्याउन लगाउने र त्यसबापत केही रकम दिने अनुसन्धानबाट खुलेको एसएसपी केसीले बताए ।
उक्त समूहले गएको चार वर्षमा मात्रै २ अर्ब ३७ करोड रुपैयाँ बढीको सुन तस्करी गरेको अनुसन्धानबाट देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यस विषयमा बिभिन्न कोणबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया