
काठमाडौं, २३ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलालई कमजोर शक्तिले शासन गर्ने अवस्थाबाट जतिसक्दो छिटो बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आज शनिबार काठमाडौंमा आयोजना गरेको ‘युवा र स्वरोजगार तथा नेपालको परिस्थितिमा युवा नेतृत्व विकास अभिमुखीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी एमालेले सत्तालाई प्राथमिकता नदिएको तर, कमजोर शक्तिको शासनबाट मुलुकलाई निकास दिन जरुरी रहेको बताएका हुन् । त्यसका लागि बलियो राजनीतिक शक्ति निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
मुलुकमा अहिले कमजोर राजनीतिक शक्ति माओवादी केन्द्रलाई सरकारको नेतृत्व मानेर अघि बढ्नुपर्ने बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न एमालेले चुनावलगत्तै पार्टी बलियो बनाउन मिसन ग्रासरुट अभियान सञ्चालन गरेको महासचिव पोखरेलले बताएका छन् । ‘कांग्रेस पहिलो र एमाले दोस्रो दल छ । माओवादी धेरै तल तेस्रो दलको रूपमा रहेको छ,’ उनले भने, ‘तर सरकारको नेतृत्व तेस्रो दलले गर्दैछ । नेपाली समाजमा राजनीतिको धुव्रीकरण हुन सकेन । कमजोर शक्तिले शासन गर्ने अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छ ।’
महासचिव पोखरेलले जति धेरै राजनीतिक दल त्यतिधेरै मुलुकमा राजनीतिक अस्थिरता हुने बताए । नेपाली समाजले अब एउटै बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको उनको भनाइ छ ।
यस्तै, उनले नेपाली राजनीतिमा अन्योलताको स्थिति उत्पन्न भएको बताएका छन् । देश राजनीतिक अस्थिरता र सामाजिक अराजकताको दुष्चक्रमा फसेको महासचिव पोखरेलको भनाइ छ । राजनीतिक स्थायित्वका लागि दर्बिलो नेतृत्व आवश्यक पर्नेमा त्यो हुन नसकेको उनले बताए ।














प्रतिक्रिया