२९ आश्विन २०८३, बिहिबार

गाँजा व्यवसाय व्यवस्थापन र नियमनका लागि बनाइएको विधेयक सरकारलाई बुझाउने तयारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । आत्मनिर्भर अभियान नेपालले गाँजा व्यवसाय तथा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न विधेयक बनाएको छ ।

आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आत्मनिर्भर अभियान नेपालमा संस्थापक श्री गुरुङले विधेयक र अवधारणापत्र सार्वजनिक गरेका हुन् ।

उक्त विधेयकको नाम ‘गाँजा व्यवसाय तथा खेती (व्यवस्थापन र नियमन) ऐन, २०८०’ रहेको छ । उक्त विधेयक नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।

गाँजा खेतीलाई वैध गराउनुपर्छ भनेर विभिन्न समयमा संसदमा समेत आवाज उठेको स्मरण गर्दै उनले आफूहरुको समूहले संसदमा पेश भएका विधेक, गाँजा खेतीबारे अन्तर्राष्ट्रिय तहमा भएको अभ्यास र प्रयासलाई अध्ययन गरेर विधेक तयार गरेको बताए । गाँजा खेतीमा रहेका चुनौतीहरूलाई कसरी समृद्धिमा परिणत गर्न सकिन्छ भनेर आफूहरु लागिरहेको उनको भनाइ छ ।

नेपाली समाजले गाँजा खेतीलाई संकुचित दृष्टिकोणले हेरेको गुरुङको बुझाइ छ । गाँजालाई प्रतिबन्ध लगाएर पुर्खाहरुले गल्ती गरिसकेको भन्दै उनले गाँजा खेतीबारे खुल्ला दिमागले सोच्न आवश्यक रहेको बताए । गाँजामाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने अवसर आएको पनि उनको भनाइ छ ।

किसानहरुलाई गाँजाले सबैभन्दा छिटो र सहज प्रतिफल दिनसक्ने उनको भनाइ छ । उनले किसानहरुमा रहेको बादरदेखि रासायनिक मलसम्मको समस्यालाई गाँजा खेतिले नै सबैभन्दा चाँडो सम्बोधन गर्नसक्ने बताए ।

अन्तर्राष्ट्रिय बजारमासमेत गाँजामा प्रतिस्पर्धा नरहेकाले यसबाट नेपालीहरुले राम्रो प्रतिफल प्राप्त गर्नसक्ने उनको दाबी छ । गाँजा खेतीबाट वार्षिक २० लाख पर्यटक थप भित्र्याउन सकिने उनले बताए ।