
काठमाडौं, २२ असार । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले प्रस्ताव गरेको १५० प्रतिशत हकप्रद शेयर साधारणसभाले पारित गरेको छ ।
आज शुक्रबार काठमाडौंमा सम्पन्न कम्पनीको १५औं साधारणसभाले १:१.५ को अनुपात हकप्रद शेयर पारित गरेको हो ।
कम्पनीले हकप्रद शेयरबाट उठेको पुँजीले गणेश हिमाल हाइड्रोपावरले प्रवर्द्धन गर्न लागेको २० मेगावाटको आँखुखोला–२ जलविद्युत् आयोजनामा लगानी गर्ने छ । सो आयोजनामा कम्पनीले ६० प्रतिशत लगानी गर्ने र बाँकी रकमबाट बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।
यस्तै, सभामा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरि पारित गरेको छ । यसैगरी, आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षक नियुक्त गर्नुको साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभालाई सम्बोधन गर्दै आँखुखोला जलविद्युत कम्पनीका अध्यक्ष राम श्रेष्ठले शेयरधनीहरूको हकहितका लागि आफूहरू लागि रहने बताए । सभामा २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनाको बारेमा कम्पनीका सल्लाहकार उत्सव बरालले शेयरधनीहरूलाई जानकारी दिएका थिए ।
सभामा बोल्ने शेयरधनीहरूले हकप्रद शेयरको प्रस्तावलाई स्वागत गर्दै नयाँ प्रजोक्टको लागि शुभकामना दिएका थिए । भव्य र सभ्यरुपले सम्पन्न भएको साधारणसभालाई कम्पनी सचिव शम्भु तिमल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।













प्रतिक्रिया