
मकवानपुर, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै बागमती प्रदेश सभामा सांसदहरुले नाराबाजी गरेका छन् ।
जारी प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेपछि एमाले सांसदहरुले उठेर प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका हुन् ।
केही दिनअघि प्रधानमन्त्री प्रचण्डले भारतले नेपालको प्रधानमन्त्री बनाउने र भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएको भन्दै नेता थपलियाले प्रधानमन्त्रीको अभिव्यक्ति घोर आपत्तिजनक रहेको बताए ।
उनले नेपालको प्रधानमन्त्री भारतले बनाउने नभइ जनताले छानेको प्रतिनिधिले मात्र बनाउन हो भन्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरे ।
नेता थपलियाले प्रधानमन्त्री प्रचण्डले गैर जिम्मेवार भएर देशको स्वाभिमानमाथि प्रहार गरेको र शिर निहुराउने गरी दिएको अभिव्यक्ति क्षम्य नहुने उल्लेख गरे । नेता थपलियाले प्रधानमन्त्रीको माग गरेपछि एमाले सांसदहरुले केही बेर ‘प्रधानमन्त्री राजीनामा दे’को नारा लगाएका थिए ।
जारी प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट माथि छलफल भइरहेको संसदमा प्रदेश सरकारका मन्त्रीहरूले बजेटमाथि उठेको प्रश्नहरुको जावफ दिएपछि आजै बजेट पारित गर्ने कार्यसूची थियो ।
सांसदहरूको विरोधका कारण बजेट पारित हुन सकेन ।















प्रतिक्रिया