२९ आश्विन २०८३, बिहिबार

कांग्रेसका जिल्ला सभापतिहरू भन्छन्– तल्लो तहमा पार्टीप्रति जनताको गुनासो बढ्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । नेपाली कांग्रेसको जिल्ला सभापतिहरूले पार्टी विधि, विधानअनुसार चल्न नसकेको बताएका छन् ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आज बिहीबारदेखि पार्टी कार्यालय सानेपामा सुरू भएको बैठकमा उनीहरूले तल्लो तहमा पार्टीप्रति जनताको धेरै गुनासो गरेको र पार्टी विधि, विधानअनुसार चल्न नसकेको बताएका हुन् ।

अब बस्ने कांग्रेस केन्द्रीय समिति बैठकबाट नागरिक केन्द्रीय अभियान सञ्चालन गर्नुपर्ने, सरकारमा जाने पार्टीका नेताहरूलाई जिम्मेवार बनाउनुपर्ने विषय छलफलमा आएको महामन्त्री गगन थापाले बताए । केन्द्रीय समितिपछि पार्टीलाई पार्टी विधि, विधानअनुसार सहज रुपमा चल्न सक्ने अवस्था सृजना गर्नुपर्नेमा समेत सहभागीले जोड दिएको उनको भनाइ छ । कांग्रेस सरकारमा सहभागी भएकाले काम र परिणामबाट नागरिकको मत जित्नुपर्ने जिल्ला सभापतिहरूको भनाइ रहेको महामन्त्री थापाले जानकारी दिए ।

छलफलमा सहभागीहरूले वर्तमान सरकारको बजेटप्रति पनि असन्तुष्टि पनि जनाएका थिए ।

कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकमा ४२ जिल्लाका सभापति र १८ जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको केन्द्रीय कार्यालयका कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । उनका अनुसार वर्षा र बाढी पहिरो लगायतका विविध कारणले उपस्थित हुन नसकेका जिल्ला सभापतिहरूलाई जुममार्फत बैठकमा जोडिएको थियो ।

आजको बैठकमा जिल्ला सभापतिहरू डिगबहादुर लिम्बू (मोरङ), नारायणप्रसाद गौडेल (बाँके), दिपक खड्का (संखुवासभा), पूर्णबहादुर तामाङ (कान्छाराम) (रामेछाप), रामनाथ अधिकारी (धादिङ), बर्मा लामा (दोलखा), राजु थापा (स्याङ्जा), केशव श्रेष्ठ (अर्घाखाँची), रामकृष्ण खाँण (रुपन्देही), खिलध्वज पन्थी (गुल्मी), केशरमान रोका (रुकुम पूर्व), का.वा. सभापति चन्द्रबहादुर राना (नवलपरासी पूर्व) र जीतेन्द्रकुमार श्रेष्ठ (ललितपुर)ले आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।

यस्तै, बुद्ध लामा (मकवानपुर), ऐनबहादुर शाही (मुगु), पुष्पबहादुर शाह (अछाम), मणिराम रेग्मी (दैलेख), रामसिंह रावल (बाजुरा), शंकरप्रसाद डाँगी (दाङ), नरेन्द्रबहादुर सिंह (डोटी), सुरेन्द्रप्रसाद सिंह (सर्लाही), पेम्बाछिरिङ तामाङ (रसुवा), रामदेव साह (सप्तरी), का.वा. सभापति खड्ग बी.सी. (जाजरकोट), सबुज बानियाँ (काठमाडौं), रामचन्द्र यादव (सिरहा) र जीत शेरचन (बाग्लुङ) ले पनि आजको बैठकमा धारणा व्यक्त गरे ।

बैठकमा धारणा राख्ने क्रम जारी रहेको कांग्रेसले जनाएको छ । भोलि असार २२ गते बिहान ११:०० बजे बैठक पुन: बस्ने छ ।