२९ आश्विन २०८३, बिहिबार

सिक्किममा नेपाली आदि पत्रकार प्रधानको १७२औं जन्मजयन्ती भव्य रुपमा सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रम्फू (पूर्व सिक्किम), १७ असार । भारतीय नेपाली समाजमा आदि पत्रकारको रुपमा मानिएका पादरी गङ्गा प्रसाद प्रधानको १७२औं जन्मजयन्ती पूर्व सिक्किमको माझीटार, रम्फूमा अवस्थित जोशुवा अडिटोरियममा मंगलबार भव्य रुपमा मनाइएको छ । उनको जन्मजयन्तीको कार्यक्रम पादरी गङ्गा प्रसाद स्मृति प्रतिष्ठानले आयोजना गरेको थियो ।

प्रधानलाई सन् १९१५ मा सिक्किमको राजधानी गान्तोकमा भएको विशेष कार्यक्रममा प्रथम नेपाली आदि पत्रकारको रुपमा घोषणा गरिएको थियो । आज भन्दा एक सय वर्ष अघि दार्जीलिङको नेपाली समाज विकासको पहिलो खुड्किलोमा पाइला टेक्दै गर्दा प्रधानले भाषा साहित्य, पत्रकारिता, शिक्षा, आध्यात्मिक, सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

उनको यसै योगदानलाई ताजा राख्न प्रतिष्ठानले समाजमा विभिन्न क्षेत्रमा कार्य गर्दै आइरहेका उर्जावान व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ ।

यसवर्षको जन्मजयन्ती कार्यक्रममा पत्रकारिकता क्षेत्रमा पत्रकार प्रभात पाठक, साहित्यको क्षेत्रमा एम एस खान, सामाजिक क्षेत्रमा रेन्बो चिल्ड्रेन होमकी संचालिका चन्द्रलेखा गुरुङ, शिक्षाको क्षेत्रमा दक्षिण सिक्किमको ताङ्जी विद्यालय, आध्यात्मिक क्षेत्रमा मणिराज राई र संगीतको क्षेत्रमा सोफियम ब्याण्डलाई सम्मान गरिएको हो ।

ताङ्जी विद्यालयको सम्मान विद्यालयका प्रधानाध्यापक कुमार चौहानले ग्रहण गरे भने एक सय वर्ष पुगेका मणिराज आउन नसकेकाले उनका छोराले सम्मान ग्रहण गरेका थिए । उनीहरू सबैलाई कार्यक्रमका मुख्य अतिथि नाट्यभुषण सी के श्रेष्ठले स्मृति चिन्ह, सम्मान पत्र प्रदान गरेर सम्मान गरेका हुन् ।

डुप छिरिङ र प्रतिष्ठानका महासचिव एवं पत्रकार भीम रावतले संचालन गरेको कार्यक्रममा सुपरिचित नाटककार एवं चलचित्रका निर्देशक चुन्निलाल घिमिरेद्वारा तयार गरिएको प्रधानको वृत्तचित्र प्रदर्शन पनि गरिएको थियो ।