
काठमाडौं, २० असार । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकर्ताहरुलाई बाढी पहिरो पीडितको उद्धार र सहयोग गर्न निर्देशन दिएका छन् ।
वर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै अध्यक्ष ओलीले कार्यकर्तालाई सो निर्देशन दिएका हुन् । उनले पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुने र यात्रुहरु प्रभावित हुने क्रम बढ्दै गएको उल्लेख गर्दै त्यसप्रति उच्च सतर्कता अपनाउन र राजमार्गहरुमा ट्राफिक नियमको पालना अनुरोध गरेका छन् ।
बुधबार बिहान समाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले भनेका छन्ः
भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरु आइरहेका छन् । पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुने र यात्रुहरु प्रभावित हुने क्रम बढ्दै छ । त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरुमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु । हाम्रो पार्टीको विपत् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्वजानकारी गराउन र आवश्यक उद्दार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु । बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरुलाई यथोचित परिचालन गरोस् भन्ने ध्यानाकर्षण गराउँछु ।















प्रतिक्रिया