
काठमाडौं, १९ असार । आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा आयरल्यान्डसँग नेपाल दुई वीकेटले पराजित भएको छ ।
विश्वकप छनोटअन्तर्गत आज जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा भएको सातौं स्थानका प्रतिस्पर्धामा टेस्ट टोली आयरल्यान्डसँग नेपाल दुई विकेटले पराजित भएको हो ।
योसँगै नेपालले १० टोली सहभागी प्रतियोगितामा आठौं हुँदै विश्वकप छनोट यात्रा समाप्त गरेको छ ।
जितका लागि २६९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।
आयरल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा ५ रन चाहिएको थियो । पहिलो बलमा ग्यारेथी डेलानीले एक रन लिए । ब्यारी म्याकार्थीले दोस्रो बलमा थर्डमा चौका हान्दै खेल सकाए ।
त्यसअघि नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाएको थियो । नेपालका युवा अलराउन्डर गुलशन झाले ४२ बलमा ४ चौका र ३ छक्कासहित ५७ रनमा अविजित इनिङ खेले पनि जितका लागि पर्याप्त भएन ।















प्रतिक्रिया