
काठमाडौं, १९ असार । एसीसी यू–१६ इष्ट जोनको उपाधि नेपालले जितेको छ ।
मलोसियामा सम्पन्न खेलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै नेपालले सानदार जित निकालेको हो । नेपालले दिएको २ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अलआउट भयो। नेपालका लागि अभिषेक तिवारी एक्लैले पाँच विकेट लिए।
६ ओभर बलिङ गरेका अभिषेकले १ मेडन राख्दै मात्र ७ रन दिए। सन्तोष यादवले ३ विकेट झारे। ३ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ९ रन खर्चे। सागर गैरे र अशोक धामीले समान १ विकेट आफ्नो नाममा गरे। त्यसअघि बायोमास ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रनको विशाल योगफल तयार पारेको थियो।
नरेनको विष्फोटक ब्याटिङमा नेपालले मलेसियालाई विशाल लक्ष्य दिएको थियो। ८९ बलको सामना गरेका नरेनले १० चौका र २ छक्का मद्दतमा १ सय १२ रनको पारी खेले। पाँचौँ विकेटका लागि नरेन र सन्तोष यादवले १ सय ३ रनको साझेदारी गरे। सन्तोषले २९ बलमा २६ रन थपे। त्यसअघि दोस्रो विकेटका लागि ओपनर निरज कुमार यादव र नरेनले ५५ रनको साझेदारी गरेका थिए।
पहिलो विकेटका लागि ओपनर निरज र सुर्याशु कोइरालाले ४१ रनको साझेदारी गर्दै नेपालले उत्कृष्ट सुरुवात दिलाएका थिए। निरजले ४८ बलमा ४७ रनको योगदान दिए। सुर्यांशुले १८ र सन्तोष यादवले २६ रन थपे।
मलेसियाका ५ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्। मुहम्मद अक्रमले सर्वाधिक १० रन बनाए। मलेसियाले पहिलो ओभरमै २ विकेट गुमाएको थियो।















प्रतिक्रिया